सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित महेन्द्र राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु।प।०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र २–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
दुर्घटनापछि बससहित चालक दाङको तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया