लन्डन, (एजेन्सी)
च्याम्पियन्स लिग अन्तिम १६ चरणको खेलमा रियल मेड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–० ले हराएको छ । फेडेरिको भाल्भेर्देले ह्याट्रिक गरेपछि रियलले जित सहजै जित हासिल गरेको हो । योसँगैं रियलको क्वार्टरफाइनल पुग्ने संभावना बलियो हुँदा सिटी भने कठिन स्थितिमा पुगेको छ ।
किलियन एम्बाप्पे, जुड बेलिंगाम र रोड्रिगो चोटका कारण नखेलेको यस खेलमा रियलले सानदार जित निकाल्यो । खेलको पहिलो हाफमै उरुग्वेका खेलाडी भाल्भेर्देले ३ गोल गरेपछि रियलको जित संभव भएको थियोे । उनले पछिल्ला २६ च्याम्पियन्स लिग खेलमा एकभन्दा बढी गोल गर्न सकेका थिएनन् ।
खेलको २०औँ मिनेटमा रियलले पहिलो गोल ग¥यो । गोलरक्षक थिबो कोर्टुवाको लामो पासमा भाल्भेर्देले बल नियन्त्रण गर्दै जियानलुइजी डोनारुम्मालाई छकाउँदैं गोल गरे । त्यसको ७ मिनेटपछि उनले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर पारे । यस्तै, ४२ औं मिनेटमा उनी तेस्रो गोल गर्दै ह्याट्रिक गर्न सफल भएका थिए ।
दोस्रो हाफमा रियलले पाएको पेनाल्टी गोल नहुँदा भने सिटी थप गोल बेहोर्नबाट बचेको थियो । भिनिसियस जुनियरलाई डोनारुम्माले लडाएपछि पेनाल्टी दिइयो । तर भिनिसियसको प्रहार डोनारुम्माले बचाएका थिए ।
यसैगरी अर्को इंग्लिस क्लब चेल्सी पनि पराजित भएको छ । चेल्सीलाई डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ५–२ गोलअन्तरले पराजित गरेको थियो । योसँगैं पीएसजीको पनि एक पाइला अन्तिम आठमा पुगेको छ । तर, इंग्लिस लिगमा शीर्ष स्थानमा रहेको आर्सेनल हारबाट जोगियो । आर्सेनलले लेभेरक्युसेनसँग १–१ बराबरी खेलेको थियो ।
यसपटक ६ वटा इंग्लिस क्लबहरूले च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । जसमा, पहिलो लेगमा सिटी, चेल्सी, टोटनहाम र लिभरपुल पराजित भए भने न्युक्यासल र आर्सेनलले बराबरी खेलेका छन् ।












प्रतिक्रिया