मुस्ताङ ।
प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।
थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका ३२ वर्षीय सुनिल घतानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार आइतबार राति करिब ८ बजे दुर्घटनामा गम्भीर घाइते भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि घतानेको शव मुस्ताङ अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घताने प्रतिनिधिसभा निर्वाचनका लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा खटिएका थिए। उनी जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा कार्यरत रहेको बताइएको छ। निर्वाचनको संवेदनशील समयमा खटिएका कर्मचारीको आकस्मिक निधन भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाइसकेको जनाएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको यस घटनाले मुस्ताङमा शोकको वातावरण सिर्जना गरेको छ।











प्रतिक्रिया