लोकतन्त्र व्यवहार र संस्कारका रूपमा आत्मसात् गर्नुपर्नेमा भण्डारीको जोड


काठमाडौं ।

पुर्वराष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले फागुन ७ गते निरङ्कुश शासनविरुद्ध नेपाली जनताले हासिल गरेको ऐतिहासिक विजयले लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रताका लागि गरिएको लामो संघर्ष, त्याग र बलिदानको स्मरण गराउने बताउनुभयो।

उहाँले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभई व्यवहार र संस्कारका रूपमा आत्मसात् गर्दै यसको संरक्षण र सुदृढीकरणमा निरन्तर लागिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो। संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।

साथै, विशेष राजनीतिक परिस्थितिमा फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै राजनीतिक दलहरूलाई जनआकाङ्क्षा, विशेषगरी युवापुस्ताको अपेक्षा सम्बोधन गर्न आग्रह गर्नुभएको छ। उहाँले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न सबैमा नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।