काठमाडौँ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक विशेषता सहितको ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । “एकै योजना, बहु–लाभ; सबै नारीका लागि सजिलो पहुँच” नारासहित ल्याइएको यो योजना महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार गरिएको हो । बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कका आधारमा नगद सुविधा प्रदान गरिनुका साथै मृत्यु लाभ हरेक पाँच वर्षमा २५ प्रतिशतले वृद्धि हुने व्यवस्था यस योजनाको प्रमुख विशेषता हो ।
नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार तथा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समावेश गरिएको छ । पूरक करारअन्तर्गत गर्भावस्थाका क्रममा सूचीकृत ११ वटा गम्भीर जटिलतामध्ये कुनै पुष्टि भएमा एकमुष्ट १ लाख रुपियाँ उपलब्ध गराइनेछ । साथै, बीमा अवधिभित्र बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासम्बन्धी स्वास्थ्य सेवाका लागि एक पटकका लागि १० हजार रुपियाँ प्रदान गरिने व्यवस्था छ ।
अग्रिम भुक्तानीसहितको सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) योजनामा न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रुपियाँ तोकिएको छ भने अधिकतम बीमाङ्क आयस्रोतका आधारमा निर्धारण हुनेछ । प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्षसम्म तोकिएको यस योजनासँग दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा र बीमाशुल्क छुट सुविधा जस्ता ऐच्छिक पूरक करार पनि लिन सकिने कम्पनीले जनाएको छ ।
महिलाको सुरक्षा, आत्मनिर्भरता र दीर्घकालीन आर्थिक सुनिश्चिततालाई लक्ष्य गरी ल्याइएको यो योजनाले नारीको सम्मानपूर्ण र सुरक्षित भविष्य निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।











प्रतिक्रिया