काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले बालबालिकाहरूमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरूमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ । कार्यशालामा जनप्रतिनिधिहरू, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी भएका थिए ।
कार्यशालामा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गरेकी छन् । उनले अधिकारीहरूलाई भनिन्, ‘‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन । आवश्यक छ । जसरी पनि कार्यान्वयनमा जानु पर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनि मात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ ।’ सामुदायिक विद्यालयहरूमा सफल बनाएर संस्थागत विद्यालयहरूमा पनि विस्तार गर्नुपर्ने उनको भनाई छ । ‘विद्यालयहरूमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम पनि चाहिएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वासयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहिनेत गर्नुपर्नेछ ।’ कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के. सी.ले, नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा वृहत् कार्यक्रम तर्जुमा गरिने बताए ।
‘सम्भवतः यो कार्यक्रम विद्यालयहरूमा पहिलो हुनुपर्छ । यसलाई नतिजा प्रदान गर्ने बनाउँछौँ ।’ उनले भने । क्षेत्रगत पृष्ठपोषण दिने क्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, बालमैत्री स्थानीय शासनका लागि विभागले विद्यालयहरूमा क्लब बनाउनु पर्ने कार्यक्रमका बारेमा कुरा गर्दै, स्वास्थ्य विभागसँग मिलेर काम गर्ने योजना बताएका थिए । शिक्षा अधिकृत केशव ज्ञवालीले, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमका सूक्ष्म पक्ष बुझाउन सके मात्र कार्यान्वयनमा सहज हुने बताए ।
विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रूप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो । विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो । स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपाने भन्छन् ,‘यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टीमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी ५ वटा विषयमा प्रशिक्षण प्रदान गरिन्छ ।’











प्रतिक्रिया