साम कुरानको त्यो विजयी योर्कर बल

0
Shares

साम कुरानले अन्तिम ओभरमा ५ रन खर्चेपछि नेपालले भारत र श्रीलंकामा जारी टी २० विश्वकपमा सबैभन्दा स्तब्ध नतिजा निकाल्न असफल भयो । १८५ रनको विजयी लक्ष्य पछ्याउँदै नेपाल १९ ओभरमा १७५ रनमा पुगेको थियो । अन्तिम ओभरमा नेपालले इतिहास रच्न मात्र १० रन आवश्यक थियो । तर, कुरानले सबै बल योर्कर फ्यालेपछि लोकेश बम र करण केसी दुबैले कुनै पनि बललाई बाउन्ड्री पार गर्न सकेनन् ।

कुरानले योर्कर बलिङ गर्ने प्रेरणा २०१६ को टी २० विश्वकपबाट प्रेरणा मिलेको खुलासा गरेका छन् । त्यतिबेला फाइनलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच भिडन्त भएको थियो । जसमा, अन्तिम ओभरमा कार्लोस ब्राथवेटले अन्तिम ओेभरमा बेन स्टोक्सको बलिङ चार लगातार छक्का प्रहार गरेका थिए । जसले गर्दा इंग्ल्यान्डले जितिसकेको उपाधि नै वेस्ट इन्डिजले खोसेको थियो ।

कुरानले बताए कि बेन स्टोक्सको अन्तिम ओभरबाट आफुले प्रेरणा लिएका थिए । स्टोक्सले योर्कर बल फ्याल्न चुकेपछि ब्राथवेटले छक्का हान्न सकेको उनको भनाई रहेको छ ।

उनले बताए—हामी हार्ने देखिएपछि मैले बु्रकलाई भने कि म यहाँ ६ वटा योर्कर फ्याल्नेछु । मैले केवल ब्याटरको खुट्टा हेरेको थिएँ । यदि यस्तो खेल जितेमा राम्रो तर, हार्नेलाई निकै पीडा नै हुन्छ । म धेरै नर्भस थिएँ तर, मैले जे सोचे त्यो गरेर देखाए ।

उनले थपे–यो खेलमा नेपालले देखाएको साहसिक प्रदर्शन हेर्दा यो विश्वकप कति प्रतिस्पर्धा हुने हो सोच्न सकिन्छ ।
यस खेलमा कुरानलाई १२ औं ओभरसम्म पनि बलिङ गराएको थिएन । जब रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेपछि मात्रै कुरानलाई ब्रुकले बल ठम्याएका थिए । उनले आउना वितिकै दीपेन्द्रको विकेट लिए ।

इंग्ल्यान्डका कप्तान ब्रुकले कुरानलाई २० औं ओभर नै दिने निधो गरेको पनि बताए । उनले बताए–मैले कुरानलाई अन्तिम ओभरका लागि विकल्पको रूपमा राखेको थिएँ । आदिल २ ओभरमा महँगो भइसके पनि हाम्रा लागि अर्को विकल्प थिएन त्यसैले उनलाई एक ओभर फयाँक्न दिनु परेको थियो । तर, त्यो ओभरमा पनि नेपाली खेलाडीले धेरै रन बटुले ।

यस्तै, ज्याक विल्सले अन्तिम ओभरमा करण केसीको बलिङमा २३ रन जोडेका थिए । उनले बताए–अन्तिम ओभरमा उनीहरू (नेपाली टोली) बहस गरिरहेको महसुस गरेँ । उनीहरूले दीपेन्द्र ऐरीलाई बलिङ गराउने नजिक पनि पुगिसकेका थिए । तर, उनीहरूले करणलाई बलिङ गराएका थिए ।

यदि, करणको स्थानमा दीपेन्द्रलाई नै बल ठम्याएको भए शायद नेपालले इतिहास रचिसकेको हुन्थ्यो होला । रोहितले अन्तिमतिर सिमरहरूलाई फर्काउने निर्णय महँगो सावित भएको थियो । किनभने नेपालले अन्तिम तीन ओभरमा ४५ रन खर्चेको थियो । दीपेन्द्र ऐरीले ३ ओभरमा २ विकेट लिएपनि उनलाई पूरा कोटा बलिङ गराएको थिएन । तर, जे भएपनि यो खेलमा नेपालको प्रदर्शनमा सारा क्रिकेट प्रेमीहरूले खुलेर प्रशंसा गरेका छन् ।

योर्कर भनेको के हो ?

योर्कर बल भनेको निकै घातक बलिङ हो । बलरले ब्याटरको खुट्टातिर वा क्रिजमा बाउन्स गरी पूरै शक्तिका साथ फ्याल्ने गर्दछन् । यो योर्कर बल फ्याल्नुको उद्देश्य नै ब्याटरलाई बोल्ड गर्नु हो । यदि, ब्याटले नछुएमा खुट्टामा लागेपनि एलबीडब्ल्यू आउट हुने धेरै संभावना पनि हुन्छ । ब्याटरहरूका लागि योर्कर बल खेल्नु निकै चुनौतीपूर्ण हुन्छ । तर, यदि बलमा शक्ति छैन भने ब्याटरले यस्ता बललाई बाउन्ड्री पार गर्न सक्दछन् ।