आईजीपी हटाउने निर्णयमा रास्वपा र सरकारको कुरा बाझियो


काठमाडौँ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गर्ने विषयमा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मतभेद देखिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णय पार्टीको निर्देशनअनुसार भएको दाबी गरे पनि रास्वपा प्रवक्ता जगदीश खरेलले भने पार्टीले कसैलाई पदमा राख्न वा हटाउन निर्देशन नदिएको स्पष्ट पारेका छन्।

खरेलका अनुसार सरकारले आईजीपीको जिम्मेवारी हेरफेरबारे पार्टीलाई कुनै जानकारीसमेत गराएको छैन। उनले पार्टीले कुनै व्यक्तिलाई पदबाट हटाउने वा नियुक्त गर्ने विषयमा हस्तक्षेप नगर्ने बताए।

यद्यपि, पत्रकार पक्राउ प्रकरणमा भने रास्वपा सचिवालय बैठकले घटनाको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको खरेलले बताए।

यसअघि कात्तिक १४ गते बसेको रास्वपा सचिवालय बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै सञ्चार क्षेत्रमा भएका गतिविधिबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो।