काठमाडौं ।
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाको अवलोकन र खरिद गर्न सकिनेछ। प्रदर्शनीबारे एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिनुभयो।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा व्यावसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल एक, आधिकारिक स्टल चार, प्रतियोगितात्मक स्टल दुई र फोटो सेल्फी स्टल एक गरी कुल ८६ वटा प्रदर्शनी कक्ष रहनेछन्।
गोदावरी फूलको विविधता, उत्पादन र व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकता दिइने प्रदर्शनीमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी पाँच विधामा प्रतिस्पर्धा गराइनेछ। यस वर्ष कट फ्लावरतर्फ उत्कृष्ट पुष्प सजावट विधासमेत थप गरिएको आयोजकले जनाएको छ। उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट स्टलका लागि समेत प्रतिस्पर्धा गराइनेछ।
प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका गोदावरी फूलका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिका फूल तथा बिरुवा पनि राखिनेछन्। गोदावरीका अतिरिक्त तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायत मौसमी फूल तथा विभिन्न सजावटी बिरुवाको समेत बिक्रीवितरण गरिने आयोजकले जनाएको छ।
फूल तथा बिरुवामा लाग्ने रोग र किरासम्बन्धी समस्या समाधान गर्न विशेषज्ञसहितको टोलीले प्लान्ट क्लिनिकमार्फत सेवा उपलब्ध गराउनेछ। पुष्प व्यवसाय गर्न चाहने, घरआँगन तथा बगैँचा सजाउन रुचि राख्ने र फूल खेतीसम्बन्धी ज्ञान हासिल गर्न चाहनेका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको विश्वास छ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ३९ हजारभन्दा बढीले अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ। प्रदर्शनीको उद्घाटन कात्तिक १२ गते बिहान ११ बजे हुने आयोजकले जनाएको छ।
प्रदर्शनी अवधिमा सामाजिक उत्तरदायित्वअन्तर्गत फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
११ अर्ब ५० करोडभन्दा बढी लगानी, ६२ हजारभन्दा बढीलाई रोजगारी
नेपालमा पुष्प व्यवसायको विकास र विस्तार हुँदै गए पनि आयातमा निर्भरता प्रमुख चुनौतीका रूपमा देखिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार देशका ५४ जिल्लामा पुष्प खेती हुँदै आएको छ। हाल ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको यस व्यवसायमा एक हजार ४४५ भन्दा बढी व्यवसायी संलग्न छन्।
पुष्प व्यवसायमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६२ हजार ५०० भन्दा बढीले रोजगारी पाएका छन्। बढ्दो सहरीकरण, घर तथा कार्यालय सजावटमा फूलको प्रयोग र चाडपर्वमा हुने मागले यस व्यवसायको विस्तारमा योगदान पुर्याएको छ।
एसोसिएसनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा कारोबार १६.९१ प्रतिशतले बढेर तीन अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
यद्यपि, पुष्प तथा पुष्पजन्य वस्तुको आयातमा उल्लेख्य वृद्धि र निर्यातमा आएको गिरावटले स्वदेशी उद्योगमा चुनौती थपेको छ। उपलब्ध विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा पुष्प तथा पुष्पजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा १०५.६६ प्रतिशतले बढेको छ भने निर्यात ४५.७९ प्रतिशतले घटेको छ। फूलका बीउबिजन, मदर प्लान्ट, जीवित बिरुवा र कट फ्लावरमा विदेशी निर्भरता कायमै रहेको व्यवसायीहरूको भनाइ छ।
पुष्प व्यवसायको दिगो विकासका लागि गुणस्तरीय बीउबिजन तथा बिरुवाको स्वदेशी उत्पादन, आधुनिक प्रविधिको प्रयोग, बजार व्यवस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने देखिन्छ। आयात प्रतिस्थापन गर्दै नेपाली फूललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सके यस क्षेत्रले कृषि अर्थतन्त्र र रोजगारी सिर्जनामा थप योगदान दिन सक्ने अपेक्षा गरिएको छ।
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीले नेपाली पुष्प व्यवसायको प्रवर्द्धन, उत्पादनको गुणस्तर सुधार र उपभोक्तालाई स्वदेशी फूलको प्रयोगतर्फ आकर्षित गर्न सहयोग पुर्याउने आयोजकको विश्वास छ।











प्रतिक्रिया