काठमाडौं ।
सप्तकोसी नदीमा आइतबार दिउँसो मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा दिउँसो करिब २ बजे मोटरबोट दुर्घटनामा परेको हो। भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
मोटरबोटमा १४ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनापछि तीन जनाको मृत्यु भएको र तीन जना बेपत्ता रहेको जनाइएको छ। अन्य यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
दुर्घटनालगत्तै उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न युनिटबाट सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ। त्यसैगरी, सुरक्षा बेस रामपुरबाट दुई जना डीएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डीएमसहित नौ जनाको टोली उद्धार तथा खोजी कार्यमा परिचालित भएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।
मोटरबोट दुर्घटनाको कारणसमेत खुल्न सकेको छैन। बेपत्ताहरूको खोजी तथा घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।











प्रतिक्रिया