काठमाडौं ।
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरी, काभ्रे, कास्की, नवलपरासी पश्चिम, रौतहट र बाँकेमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको हो।
सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १८ वर्षीय जयप्रकाश साहको मृत्यु भएको छ भने काभ्रेमा मोटरसाइकल अनियन्त्रित हुँदा २४ वर्षीय दिनेश पाख्रिनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, कास्कीमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय रमाकान्त शर्मा, नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा ४० वर्षीय सुवास सेन्चुरी र रौतहटमा मोटरसाइकल दुर्घटनामा ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा दुई कार आपसमा ठोक्किँदा ७३ वर्षीय टेकबहादुर शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न केही सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया