काठमाडौँ ।
प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका लुटेरा समूहका मुख्य नाइके आर्यन माझीको २७ वटा मुद्दा रहेको खुलेको छ । प्रहरीले काठमाडौँको काँडाघारी क्षेत्रबाट लुटपाटमा संलग्न रहेको आरोपमा गोली हानी पक्राउ गरेको थियो । राजधानीलाई केन्द्र बनाएर लुटपाटमा संलग्न माझीसहित अन्य २ जनालाई पक्राउ गरेको छ ।
माझीमाथि जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा काभ्रे र जिल्ला प्रहरी परिसर काठमाडौँबाट डाँका चोरीसम्बन्धी २७ वटा मुद्दा चलिसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका माझी सिन्धुलीको मरिन गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् ।
काठमाडौँको कलंकीमा बस्दै आएका माझीले प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रतिवाद गरेपछि गोली चलाउनुपरेको जनाएको छ । प्रहरीले माझीमाथि चलाएको गोली खुट्टामा लागेको छ । प्रहरीले माझीसँगै लुटपाटमा संलग्न मकवानपुरको बकैया गाउँपालिका–५ का राकेश थिङ र सोही गाउँपालिका–७ का मनोजकुमार मोक्तानलाई पनि पक्राउ गरेको छ ।
यो समूहले बाटामा हिँड्दै गरेका मानिसको सिक्री लुट्ने गरेका थिए । उनीहरू लुटपाटलगत्तै मोटरसाइकलमा चढेर फरार हुने गरेका थिए र फरार हुने कार्यका लागि काठमाडौँका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरिसकेको अनुसन्धानबाट खुलेको छ । माझीको समूहले उपत्यकामा रातको समयमा २–३ वटा मोटरसाइकलमा ३–३ जनाको चढेर राजधानीका विभिन्न सडकमा हिँडिरहेका व्यापारीलाई लुटपाट गरेका थिए ।
उनीहरूका गरगहना तथा नगद लुटपाट भएको थियो । प्रहरी अनुसन्धानपछि आर्यन माझीको नेतृत्वमा रहेका १० जनालाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न स्थानमा विभिन्न बैंकका एटीएम बुथहरू लुटपाटमा संलग्न नाइके माझी २०७७ सालमा डाँकाचोरी मुद्दामा तीन महिना कैद बसी कारागारबाट धरौटीमा छुटेका थिए । उनलाई पुनः ६ महिना कैद फैसला भएपछि २०८२ वैशाखमा पक्राउ परी फेरि तीन महिनामा कैद भुक्तान गरेका थिए ।











प्रतिक्रिया