१२ हजार तिरेर पनि घण्टौँ लाइन

मिति र समय तोकिए पनि कार्यान्वयन छैन, राहदानी तयार भएको म्यासेजसमेत आउन छाड्यो

564
Shares

काठमाडौँ ।

राहदानी विभागले १२ हजार रुपैयाँ शुल्क लिएर तीन दिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था गरे पनि सेवाग्राहीले भने राहदानी लिन घण्टौँ लाइन बस्नुपर्ने बाध्यता कायमै छ । विभागले अनलाइन फाराम भर्दा प्रक्रिया पूरा गर्न आउने मिति र समय तोके पनि अधिकांश सेवाग्राही फाराम भरेकै दिन विभाग पुग्ने गरेका कारण भीड बढेको छ ।

बुधवार बिहान १० बजे त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्दा राहदानी बनाउन तथा लिन आउने सेवाग्राहीको भीड थेगिनसक्नु थियो । घण्टौँ लाइन बस्नुपरेको, राहदानी तयार भएको म्यासेज नआएको तथा सेवा लिन अनिश्चित समय कुर्नुपरेको भन्दै सेवाग्राही आक्रोशित देखिन्थे ।
विभागका निर्देशक एवं प्रवक्ता दीपक बञ्जाडेले टाढाबाट आएका सेवाग्राहीले फाराम भरेकै दिन राहदानी चाहिने दबाब दिने भएकाले विभागले तोकेको मिति र समय कार्यान्वयन गर्न समस्या भएको स्वीकार गर्नुभयो ।

‘के गर्ने, १२ हजार तिरेर धेरै टाढाबाट सेवाग्राही आएका हुन्छन् । आजै पासपोर्ट चाहियो भन्छन् । नदिए रुवावासी गर्ने गरेका दर्जनौँ गुनासा सुन्ने गरेका छौँ । यस्तो समस्या देखेर कार्यान्वयन गर्न नसकेको हो’ –प्रवक्ता बञ्जाडेले भन्नुभयो । उहाँका अनुसार अब भीड बढ्न थालेकाले मिति र समयलाई कडाइका साथ लागू गरिनेछ ।

विभागको अर्को समस्या राहदानी तयार भएको जानकारी दिने म्यासेज नआउनु हो । यसअघि तीन दिनभित्र राहदानी आउने गरी १२ हजार रुपैयाँ भुक्तानी गरेपछि राहदानी तयार भएपछि विभागले सेवाग्राहीलाई म्यासेज पठाउने गरेको थियो । अहिले म्यासेज नआएपछि सयौँ सेवाग्राही प्रक्रिया पूरा गरेको भोलिपल्टै राहदानी लिन विभाग पुग्ने गरेका छन् ।

प्रवक्ता बञ्जाडेले भने अधिकांशको म्यासेज आउने गरेको र केहीको मात्र समस्या परेको हुन सक्ने बताउनुभयो । उहाँले विभागमा देखिएको समस्या दशैँलगत्तै समाधान हुने दाबी गर्नुभयो ।

सरकारले नयाँ प्रणालीबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको र दैनिक १ हजार ५ सय पासपोर्ट छापिएको दाबी गर्दै आएको छ । तर विभागमा भने सेवाग्राहीको सास्ती घटेको छैन । घण्टौँसम्म कुर्नुपर्ने, प्रणाली अवरुद्ध हुने, अनलाइन भुक्तानी स्वीकार नहुने, अपोइन्टमेन्ट छिट्टै बन्द हुने तथा राहदानी वितरणमा ढिलाइ हुने समस्या सेवाग्राहीले भोगिरहेका छन् ।

विराटनगरबाट राहदानी बनाउन आएका एक सेवाग्राहीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘१२ हजार तिरेर राहदानी बनाउन आयो, दिनभरि लाग्छ । कहिले लिन आउने भन्ने अन्योल हुन थालेको छ । राहदानी लिन एकदमै दुःख पाउनुपरेको छ ।’

अर्का सेवाग्राहीले भन्नुभयो– ‘सरकारको सुशासन यहाँ देखिन्छ ? १२ हजार तिरेर एउटा पासपोर्ट बनाउन घण्टौँ लाइन बस्नुपर्छ । पासपोर्ट लिन तीन घण्टादेखि लाइन बस्यो, बल्लतल्ल पालो आउँछ ।’

मुख्य गेटमा खटिएका प्रहरीलाई समेत भीड व्यवस्थापन गर्न हम्मे परेको थियो । एक प्रहरीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नियम कार्यान्वयन नहुँदा भीड बढ्न थालेको छ । तोकेको दिन र मितिमा सेवाग्राही आए कुनै समस्या हुँदैन । हामीले मिति र समय हेरेर गेटबाट रोक्न खोज्छौँ, तर सबैलाई पठाइदिनुस् भन्छन् । यो नै विभागको मुख्य त्रुटि हो ।’

सरकारले राहदानी घरघरमा पु¥याउने तथा हुलाकमार्फत वितरण गर्ने घोषणा गर्दै आए पनि हुलाकबाट राहदानी कहिलेदेखि पु¥याउने भन्ने स्पष्ट छैन । विभागले आफ्नै तोकेको मिति र समय कार्यान्वयन गर्न नसक्दा तथा सेवाग्राहीलाई राहदानी तयार भएको सूचना नियमित दिन नसक्दा सेवा प्रवाहमा समस्या थपिएको छ ।