चितवन।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका प्रत्यासी नीलकण्ठ रिजालले विद्यार्थी राजनीतिबाट सुरु गरेको आफ्नो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहसम्म विस्तार गर्दै छन् । लामो समयदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय रिजालले विद्यार्थी, युवा तथा संगठन निर्माणसँग जोडिएको राजनीतिक अनुभवलाई आगामी भूमिकाको आधार बनाउँदै आएका थिए ।
‘झन्डै ३५ वर्षको राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तर समर्पण, सुधारका स्पष्ट एजेन्डासहित पार्टीका साथीहरुमाझ विवेकपूर्ण निर्णय र सुदृढ कांग्रेस निर्माणको संकल्प लिएर आएको छु’, उनले भने– ‘केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयको प्रतीक्षामा छु ।’
रिजालको राजनीतिक यात्राको सुरुआत चितवनबाट भएको थियो । उनी वीरेन्द्र बहुमुखी क्याम्पस चितवनको नेविसंघ इकाइको सचिव तथा अध्यक्ष हुँदै स्ववियु सदस्य र सचिवको भूमिकामा पुगेका थिए । पछि काठमाडौंमा सक्रिय हुँदै नेविसंघको केन्द्रीय सदस्य र सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
रिजालले आफ्नो राजनीतिक यात्रामा विद्यार्थी संगठनलाई पार्टीको आधारभूत संगठन निर्माणको माध्यमका रूपमा प्रयोग गर्दै आएका छन् । पछिल्लो समय चितवन क्षेत्र नम्बर २ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनले युवा तथा विद्यार्थीबीच कांग्रेसको विचार र संगठन विस्तारसँग सम्बन्धित गतिविधिमा समेत सक्रियता देखाउँदै आएका छन् ।
रिजालको उम्मेदवारी यस्तो समयमा आएको छ, जति बेला कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्वमा पुस्तान्तरण, संगठन सुदृढीकरण र युवाको सहभागिताका विषय बहसमा छ । कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औं केन्द्रीय महाधिवेशन असोज १८ उद्घाटन भइसकेको छ ।
रिजालले आफ्नो उम्मेदवारीमार्फत लामो समय पार्टी संगठनमा काम गरेका युवा तथा कार्यकर्ताको अनुभवलाई केन्द्रीय तहमा जोड्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् । उनको राजनीतिक दृष्टिकोणमा युवाको रोजगारी, विदेश पलायन, संगठनमा पुस्तान्तरण र पार्टीभित्रको आन्तरिक लोकतन्त्रजस्ता विषय महत्वपूर्ण देखिन्छन् ।
उनको सार्वजनिक राजनीतिक यात्रा नेविसंघको संगठन निर्माणदेखि कांग्रेसको केन्द्रीय राजनीतिसम्म रहेकाृ छ । विद्यार्थी राजनीतिमा विभिन्न तहका जिम्मेवारी सम्हालेको अनुभवलाई रिजालले अहिले पार्टीको मूल संगठनमा उपयोग गर्ने उद्देश्य राखेका छन् ।
१५औं महाधिवेशनमा विभिन्न पृष्ठभूमिका नेताहरूले केन्द्रीय सदस्यसहित विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यसले कांग्रेसभित्र नेतृत्वमा नयाँ पुस्ता र विविध क्षेत्रको प्रतिनिधित्वको बहसलाई पनि अगाडि ल्याएको छ ।
रिजालका लागि यो उम्मेदवारी लामो राजनीतिक यात्राको अर्को चरण हो । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अब कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोज्ने मोडमा पुगेको छ ।











प्रतिक्रिया