कविरस शर्मा, (नागोया)
सूर्योदयको देशबाट परिचित जापानको नागोयास्थित ऐतिहासिक मिजुहो पार्क एथ्लेटिक स्टेडियम आइतबार साँझ एक स्वर्णिम र भावुक क्षणको साक्षी बन्यो । १६ दिनसम्म एसियाली खेलकुदका ताराहरू, विश्व कीर्तिमानधारी धावकहरू र नवोदित प्रतिभाका आँसु र मुस्कानलाई एउटै प्राङ्गणमा गाँसेको एसियाकै सबैभन्दा ठूलो बहु–खेलकुद महोत्सव २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) अन्ततः आफ्ना अनगिन्ती अविस्मरणीय यादहरू छोड्दै औपचारिक रूपमा सम्पन्न भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले जब रङ्गशालामा भरिभराऊ हजारौँ दर्शकमाझ १६ दिने खेलकुद कुम्भमेला समापनको औपचारिक घोषणा गरे, तब सारा रङ्गशाला एकसाथ जापानी संस्कृति, आधुनिक एक्रोब्याटिक्स र गगनचुम्बी आतिसबाजीको उज्यालोमा झिलिमिली भयो ।
भव्य सांस्कृतिक प्रस्तुति र मन्त्रमुग्ध पार्ने नृत्यका बीच मुख्य ओलम्पिक ज्वाला (कल्ड्रन) विस्तारै निभ्दा रङ्गशालामा उपस्थित हरेक खेलाडी, प्रशिक्षक र दर्शक भावुक बनेका थिए । यो केवल एउटा अध्यायको अन्त्य मात्र थिएन, सन २०३० मा मध्यपूर्वको मरुभूमिमा अर्को स्वर्णिम कथाको सुरुवात पनि थियो । ओसीए अध्यक्षबाट एसियाली खेलकुदको ऐतिहासिक ध्वजा सन् २०३० को २१औँ संस्करण आयोजक राष्ट्र कतारका प्रतिनिधि तथा ओलम्पिक स्वर्ण पदक विजेता हाई जम्पर मुताज एसा बर्शिम र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीलाई हस्तान्तरण गरिँदा जापानी रङ्गशाला दोहाको नयाँ क्षितिजतर्फ उन्मुख देखिन्थ्यो ।
आइची–नागोया एसियाड २०२६ केवल एउटा खेलकुद प्रतियोगिता मात्र रहेन, यसले भावी पुस्ताको शक्ति र दृढ सङ्कल्पलाई विश्वसामु सानदार ढङ्गले प्रस्तुत ग¥यो । १३ वर्षीया चिनियाँ डाइभर तथा पौडीबाज यु जिदीले आफ्नो अद्भूत कला र सानै उमेरको परिपक्वताले सम्पूर्ण एसियालाई स्तब्ध पारिन् भने थाइल्यान्डका द्रुत धावक पुरिपोल बुन्सनले ट्रयाकमा देखाएको गति र अद्वितीय क्षमताका कारण यी दुवै युवा प्रतिभा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए । पदक तालिकाको कुरा गर्दा, एसियाली खेलकुदमा चीनको दबदबा निरन्तर कायमै रह्यो । चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी कुल ३४१ पदक जित्दै आफ्नो आधिपत्य पुनः सिद्ध ग¥यो ।
घरेलु मैदानको पूर्ण फाइदा उठाउँदै आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित कुल २६९ पदक हासिल गरी दोस्रो स्थानमा रह्यो भने दक्षिण कोरिया ३९ स्वर्ण जित्दै तेस्रो बन्यो । छिमेकी मुलुक भारतले पनि २१ स्वर्ण, २७ रजत र ३७ कांस्यसहित कुल ८५ पदक जितेर चौथो स्थान ओगट्दै दक्षिण एसियाली खेलकुदको साख जोगाएको छ । तर, यो विशाल पदक तालिका र भव्य उत्सवको अर्को पाटोमा हिमालको देश नेपालको प्रदर्शन भने गम्भीर समीक्षा र विलापको विषय बनेको छ । एक स्वर्णसहित कम्तीमा १० पदक जित्ने दाबीका साथ उच्च मनोबल बोकेर ‘मिसन २०२६’ को नारा घन्काउँदै जापान ओर्लिएको १३५ सदस्यीय नेपाली टोली अन्ततः दुईवटा कांस्य पदकमै सीमित हुन पुग्यो ।
२१ खेलका १३५ खेलाडीहरू (७८ पुरुष र ५७ महिला) ले प्रतिस्पर्धा गरेको यस एसियाडमा करातेको कुमितेतर्फ (८४ केजी माथि) तेन्जिङ शेर्पा र टोलीगत एकताको प्रतीक बनेको महिला कबड्डी टोलीले मात्र नेपालको झण्डा पदक तालिकामा शून्य हुनबाट जोगाए । सन् २०२३ को हाङझाउ एसियाडमा एरिका गुरुङले करातेमा ऐतिहासिक रजत र कबड्डी टोलीले कांस्य जितेको इतिहास स्मरण गर्दा नागोयाको यो नतिजा नेपाली खेलकुद क्षेत्रका लागि योजना, लगानी र आधुनिक पूर्वाधारको अभाव कति घातक हुन्छ भन्ने तीतो यथार्थको ऐना बनेको छ । अब सम्पूर्ण एसियाको नजर सन् २०३० को नोभेम्बर ४ देखि १९ सम्म कतारको दोहामा आयोजना हुने २१औँ एसियाली खेलकुदमा अडिएको छ, जहाँ सन् २००६ को एसियाड र सन् २०२२ को फिफा विश्वकपका अत्याधुनिक पूर्वाधारहरू एसियाली खेलकुदको स्वागतका लागि तयार हुँदैछन् ।
अन्तिम पदक तालिका
१। चीन — १६८ स्वर्ण, ८९ रजत, ८३ कांस्य — ३४०
२। जापान — ८३ स्वर्ण, ९३ रजत, ९० कांस्य — २६६
३। दक्षिण कोरिया — ३८ स्वर्ण, ४३ रजत, ६८ कांस्य — १४९
४। भारत — २१ स्वर्ण, २७ रजत, ३७ कांस्य — ८५
५। उज्बेकिस्तान — २१ स्वर्ण, २५ रजत, २४ कांस्य — ७०
६। इरान — १८ स्वर्ण, १८ रजत, १५ कांस्य — ५१
७। थाइल्यान्ड — १८ स्वर्ण, १३ रजत, २१ कांस्य — ५२
८। काजकिस्तान — १२ स्वर्ण, २४ रजत, ४७ कांस्य — ८३
९। हङकङ, चीन — ११ स्वर्ण, १९ रजत, २४ कांस्य — ५४
१०। बहराइन — ११ स्वर्ण, ५ रजत, ६ कांस्य — २२
११। मलेसिया — ९ स्वर्ण, ७ रजत, १६ कांस्य — ३२
१२। उत्तर कोरिया — ७ स्वर्ण, १२ रजत, ९ कांस्य — २८
१३। यूएई — ७ स्वर्ण, ४ रजत, १ कांस्य — १२
१४। चाइनिज ताइपेई — ५ स्वर्ण, १७ रजत, ३३ कांस्य — ५५
१५। इन्डोनेसिया — ५ स्वर्ण, ११ रजत, २३ कांस्य — ३९
१६। कतार — ५ स्वर्ण, ६ रजत, ५ कांस्य — १६
१७। फिलिपिन्स — ४ स्वर्ण, ९ रजत, १६ कांस्य — २९
१८। कुवेत — ४ स्वर्ण, १ रजत, ४ कांस्य — ९
१९। भियतनाम — ३ स्वर्ण, ३ रजत, १९ कांस्य — २५
२०। साउदी अरेबिया — ३ स्वर्ण, २ रजत, ९ कांस्य — १४
२१। सिंगापुर — २ स्वर्ण, ९ रजत, ७ कांस्य — १८
२२। ताजिकिस्तान — २ स्वर्ण, ५ रजत, ९ कांस्य — १६
२३। जोर्डन — २ स्वर्ण, ३ रजत, ६ कांस्य — ११
२४। म्यानमार — २ स्वर्ण, १ रजत, २ कांस्य — ५
२५। मकाउ, चीन — १ स्वर्ण, ४ रजत, १ कांस्य — ६
२६। किर्गिस्तान — १ स्वर्ण, ३ रजत, १० कांस्य — १४
२७। मंगोलिया — १ स्वर्ण, १ रजत, १३ कांस्य — १५
२८। श्रीलंका — १ स्वर्ण, १ रजत, १ कांस्य — ३
२९। पाकिस्तान — २ रजत, ८ कांस्य — १०
३०। इराक — २ रजत, ३ कांस्य — ५
३१। तुर्कमेनिस्तान — २ रजत — २
३२। अफगानिस्तान — १ रजत, २ कांस्य — ३
३२। लेबनान — १ रजत, २ कांस्य — ३
३४। ओमान — १ रजत, १ कांस्य — २
३५। कम्बोडिया — ४ कांस्य — ४
३६। नेपाल — २ कांस्य — २
३७। बंगलादेश — १ कांस्य — १
३७। ब्रुनाई — १ कांस्य — १
३७। लाओस — १ कांस्य — १
३७। सिरिया — १ कांस्य — १
नोट : प्रतियोगितामा एसियन शरणर्थी टिम, भूटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर–लेस्टे र यमन पदकविहिन बनेका छन ।











प्रतिक्रिया