काँग्रेसको आत्मा बीपी–गणेशमानकै विचारमा छ, अब शैली र संस्कार बदल्नुपर्छ : गगन थापा


काठमाडौँ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल विचार, मूल्य र आदर्शलाई जोगाउँदै कार्यशैली, व्यवहार र राजनीतिक संस्कारमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।

काठमाडौंको खुलामञ्चमा आइतबार सुरु भएको काँग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले काँग्रेसको पहिचान केवल निर्वाचन जित्ने र पद प्राप्त गर्ने राजनीतिक संगठनका रूपमा सीमित हुन नहुने बताए। उनले पार्टीलाई जनताको सुख–दुःखमा निरन्तर साथ दिने बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

काँग्रेसको वैचारिक आधार बीपी कोइराला र गणेशमान सिंहको त्याग, संघर्ष र आदर्शबाट निर्माण भएको स्मरण गर्दै थापाले पार्टीको आत्मा र मूल मूल्यलाई कायमै राखेर समयअनुसार काम गर्ने शैली, भाषा, सोच, व्यवहार र संस्कार परिवर्तन गर्नुपर्ने बताए।

उनका अनुसार संगठन भनेको पार्टी कार्यालय सञ्चालन गर्ने वा अधिवेशन गर्ने संरचना मात्र होइन, जनतासँगको प्रत्यक्ष र जीवन्त सम्बन्ध हो। पार्टीको सांगठनिक शिथिलता अन्त्य गर्दै प्रत्येक कार्यकर्ता वडा तहसम्म पुगेर जनतासँग जोडिनुपर्ने उनले बताए।

‘काँग्रेस हुनुको अर्थ केवल पार्टीको झण्डा बोक्नु, नारा लगाउनु वा चुनावमा उम्मेदवार उठाउनु र जिताउनु मात्र होइन । नेपाली काँग्रेस त्योभन्दा धेरै माथिको विचार, मूल्य र आदर्शबाट बनेको पार्टी हो,’ थापाले भने।

उनले आफूहरू पार्टी बदल्न आएको भए पनि त्यसको अर्थ काँग्रेसको मूल मूल्य र आत्मा त्याग्नु नभएको स्पष्ट पारे। बीपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै पार्टीको शैली र संस्कारमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ।

महाधिवेशनपछि प्रतिनिधिहरूले केवल फोटो खिचेर फर्किने नभई वडा–वडामा पुगेर संगठनलाई जनतासँग जोड्नुपर्ने थापाले बताए। किसान, युवा, अल्पसंख्यक तथा अप्ठ्यारोमा परेका नागरिकले काँग्रेसलाई खोज्दा उनीहरूको साथमा उभिन सक्ने पार्टी नै वास्तविक काँग्रेस हुने उनले उल्लेख गरे।

पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिलाई लिएर उठेका विषयमा पनि थापाले धारणा राखे। देउवाप्रति सम्मान व्यक्त गर्दै उनले सम्मान केवल व्यक्तिगत रूपमा सलामी दिएर नभई आफूले नेतृत्व गरेको पार्टीलाई अझ बलियो, फराकिलो र उचाइमा पुर्‍याएर गर्नुपर्ने बताए।

थापाले काँग्रेसबाट अलग भएका नेता तथा कार्यकर्तालाई समेत पुनः पार्टीसँग जोड्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीको व्यवहारका कारण कतिपय व्यक्ति काँग्रेसबाट टाढिएको स्वीकार गर्दै उनले विगतका कमजोरीप्रति आत्मसमीक्षा आवश्यक रहेको बताए।

‘काँग्रेस छोडेर जानुभएका साथीहरूलाई पनि हामी भन्न चाहन्छौँ, तपाईंहरूले कांग्रेस छोड्नुभएको होइन, हाम्रो व्यवहारका कारण काँग्रेसले तपाईंहरूलाई छोडेको हो,’ उनले भने, ‘अब काँग्रेस फेरि तपाईंहरूलाई जोड्न आउनेछ।’

महाधिवेशनबाट पारित हुने नयाँ कार्यदिशाले काँग्रेसलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै थापाले नयाँ ऊर्जा, नयाँ शैली र जनतासँग अझ गहिरो सम्बन्ध भएको पार्टी निर्माणमा सबैलाई जुट्न आग्रह गरे।