सिरहामा ११० किलो गाँजासहित तीन जना पक्राउ


काठमाडौं । 

सिरहाको औरही गाउँपालिका–१ दरैयाबाट ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार शुक्रबार राति करिब १ः३५ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले ६ वटा बोरामा राखिएको गाँजा बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।

उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।