काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गरिएको छ। महाधिवेशन स्थलमा पाँचवटा स्टलसहितको हेल्थ डेस्क र दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवा प्रदान गर्न हेल्थ डेस्क स्थापना गरिएको हो। हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइनेछ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार प्रत्येक सिफ्टमा आठ जना चिकित्सक, पारामेडिक्स तथा नर्ससहितको स्वास्थ्य टोली परिचालन हुनेछ। हेल्थ डेस्कबाट रक्तचाप र मधुमेह परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधिलगायतका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ।
महाधिवेशनमा सहभागी प्रतिनिधिलाई आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।
रातिको समयमा स्वास्थ्य सेवा आवश्यक पर्ने प्रतिनिधिका लागि अनकल ड्युटीको व्यवस्था पनि गरिएको डा. केसीले बताए। होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या देखिएमा होटलमै पुगेर परीक्षण तथा उपचारको प्रबन्धसमेत मिलाइएको उनले जानकारी दिए।
नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलले हेल्थ डेस्कबाट आयुर्वेदिक र एलोप्याथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुने बताइन्। उनका अनुसार प्रतिनिधिहरूको आवश्यकतालाई ध्यानमा राखेर अत्यावश्यक औषधिको व्यवस्था गरिएको छ।











प्रतिक्रिया