काठमाडौं ।
विशेष अदालतले सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अदालतले पौडेललाई दुई वर्ष कैदसँगै ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा जरिवाना हुने फैसला गरेको हो।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार पौडेलको जाँच अवधिको आम्दानी तथा खर्चको विस्तृत विश्लेषण गर्दै फैसला सुनाएको हो।
अदालतका अनुसार पौडेलको जाँच अवधिमा वैध आय ४ करोड १६ लाख ७९ हजार १८ रुपैयाँ २७ पैसा रहेको देखिएको छ। तर सोही अवधिमा उनको कुल खर्च ४६ करोड ११ लाख ५२ हजार ३०१ रुपैयाँ १२ पैसा पुगेको पाइएको छ।
आम्दानीको तुलनामा ४१ करोड ९४ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको देखिएपछि अदालतले उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो। सोही आधारमा बिगो जफतसँगै बराबर रकम जरिवाना हुने फैसला भएको छ।
अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम पौडेललाई दुई वर्ष कैद सजाय सुनाएको छ। साथै, ऐनको दफा २४ बमोजिम थप ६ महिनाको कैद सजायसमेत हुने फैसलामा उल्लेख छ।
फैसलामा पौडेलले आफ्नो वैध आम्दानीका रूपमा दाबी गरेका विभिन्न स्रोतलाई अदालतले स्वीकार गरेको छैन। विशेषगरी, विदेशमा परामर्श सेवा प्रदान गरी प्राप्त गरेको रकमलाई अदालतले वैध आयका रूपमा मान्न अस्वीकार गरेको छ।
नेपालमा सार्वजनिक पदमा बहाल रहेको समयमा सम्बन्धित निकायको अनुमति नलिई विदेशबाट परामर्श सेवा लिएको दाबी कानुनी रूपमा मान्य नहुने भन्दै उक्त रकमलाई वैध आयमा समावेश गर्न नमिल्ने अदालतको निष्कर्ष छ।
त्यस्तै, परिवारका अन्य सदस्यको नाममा रहेको सम्पत्ति तथा बैंक खातालाई आफ्नो आयमा जोड्न नमिल्ने पौडेलको जिकिरलाई पनि अदालतले अस्वीकार गरेको छ। अंश भर्पाई भइसकेको अवस्थामा परिवारका सदस्यको नाममा रहेको जग्गा बिक्रीबाट प्राप्त रकम तथा बैंक खातामा जम्मा भएको रकमलाई पौडेलको वैध आम्दानी मान्न नसकिने अदालतले जनाएको छ।
पौडेलले अमेरिका र सिंगापुरका बैंक तथा वित्तीय संस्थामा राखेको रकम र गरेको लगानीलाई पनि अदालतले फैसलामा समेटेको छ। सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा रहेको रकम तथा अमेरिकाको रोबिनहुड सेक्युरिटीजमा गरिएको लगानीलाई अदालतले उनको खर्चका रूपमा गणना गरेको छ।
वैध आयको स्रोत पुष्टि हुन नसकेको रकमसमेत खर्चमा देखिएपछि पौडेलले जाँच अवधिमा आफ्नो वैध आम्दानीभन्दा ४१ करोड ९४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको अदालतको निष्कर्ष छ। यही आधारमा उक्त रकम गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको अदालतले ठहर गरेको हो।











प्रतिक्रिया