उज्यालो नेपाल पार्टी मूलधारको शक्ति बन्छ: अध्यक्ष घिसिङ 


रामेछाप ।

 उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी प्रमुख राजनीतिक मूलधारको शक्तिका रूपमा स्थापित हुने दाबी गर्नु भएको छ।

शुक्रबार मन्थलीमा उज्यालो नेपाल पार्टी रामेछाप समन्वय समितिले आयोजना गरेको पार्टीको विस्तारित बैठक, भेला तथा पुनर्गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उक्त कुराको दाबी गर्नु भएको हो 

कार्यक्रममा बोल्दै उनले मुलुकलाई परम्परागत राजनीतिको बेथितिबाट बाहिर निकाल्न स्पष्ट दूरदृष्टि, सुशासन र परिणाममुखी एजेन्डासहितको नयाँ शक्तिको आवश्यकता रहेको बताउनु भयो । 

कार्यक्रममा उहाँले उज्यालो नेपाल पार्टीमा सबै जातजाति नागरिक अट्ने समावेशी पार्टि हुनुका साथै विषय विज्ञहरु पनि रहेको उहाँको दाबी रहेको थियो ।सम्बोधनमा उहाँले “गफ र आश्वासनमा सीमित नभई जनतालाई प्रत्यक्ष परिणाम दिने राजनीति गर्न आएका हौँ,”  भन्नु भयो ।”जसरी लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो बनाइयो, त्यसैगरी सुशासन र विकासका माध्यमबाट सिङ्गो मुलुकको सामाजिक तथा आर्थिक अवस्था उज्यालो बनाउन यो पार्टी मैदानमा उत्रिएको हो।” घिसिङले भन्नु भयो । 

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका घिसिङले आफूहरू व्यवस्थापकीय क्षमता र जनविश्वासको जगमा अघि बढेको उल्लेख गर्दै पार्टी जनताको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गर्नु भयो।