काठमाडौं ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा प्रचारप्रसारमा अनावश्यक तामझाम नगर्ने जनाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउने जानकारी दिएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा सहभागी उम्मेदवारहरूलाई प्रचारप्रसारका क्रममा वातावरणमा असर पर्ने सामग्री प्रयोग नगर्न आग्रह गरिएको बताए।
उनका अनुसार यसपटक सहरका विभिन्न स्थानमा प्रचार सामग्री टाँस्ने तथा पर्चा वितरण गर्नेभन्दा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिइनेछ।
प्रवक्ता चालिसेले भने, ‘१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिने छैन। सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ।’
कांग्रेसले महाधिवेशनस्थल तथा आवश्यक स्थानमा डिजिटल बोर्ड राख्ने तयारी गरेको जनाएको छ। साथै, प्रचारप्रसारका लागि पर्चा तथा अन्य कागजी सामग्री नछाप्न पनि उम्मेदवारहरूलाई आग्रह गरिएको छ।
पार्टीले महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थित, वातावरणमैत्री र आधुनिक प्रविधिमा आधारित बनाउने नीति अघि सारेको जनाएको छ।











प्रतिक्रिया