समयानुकूल ज्येष्ठ नागरिक नीति बनाउन सरोकारवालाको जोड

ज्येष्ठ नागरिकको अनुभव, सीप संरक्षण र सम्मानजनक जीवनयापनको वातावरण बनाउनुपर्नेमा जोड


काठमाडौं ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सरोकारवालाले नेपालमा समयानुकूल ज्येष्ठ नागरिक नीति निर्माण गर्न सरकारसँग माग गरेका छन् । नेपालीको औसत आयु बढ्दै गएको र ज्येष्ठ नागरिकको आवश्यकता तथा समस्या परिवर्तन हुँदै गएकाले स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, सम्मानजनक जीवनयापन र अनुभव तथा सीपको उपयोगलाई समेट्ने नीति आवश्यक रहेको उनीहरूको जोड छ ।

बिहीबार काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा लरेन्स सोसल वर्क क्लबले आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवससम्बन्धी कार्यक्रममा सहभागी सरोकारवालाले ज्येष्ठ नागरिकको हकहित, स्वास्थ्य सेवा र अन्तरपुस्ता सहकार्यका विषयमा छलफल गर्दै राज्यले ज्येष्ठ नागरिकप्रतिको दृष्टिकोण र नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

वीर अस्पतालका ज्येष्ठ नागरिक स्वास्थ्य उपचार विशेषज्ञ डा. अनन्त अर्यालले नेपालीको औसत आयु बढेसँगै ज्येष्ठ नागरिकसम्बन्धी नीति पनि समयानुकूल बनाउनुपर्ने बताउनुभयो । उहाँले २००७ सालमा नेपालीको औसत आयु करिब ३५ वर्ष रहेकोमा अहिले दोब्बर पुगेको उल्लेख गर्दै स्वास्थ्य सेवामा आएको सुधारले मानिसको जीवन लम्बिएको बताउनुभयो ।

“पहिला क्षयरोग लागेकालाई बचाउन मुस्किल हुन्थ्यो, तर अहिले औषधि उपचारबाट क्षयरोगका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था छैन । औसत उमेर बढेसँगै ज्येष्ठ नागरिकका लागि राज्यका तर्फबाट उपयुक्त नीति बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकलाई सरकारी निकायबाट सहज सेवा उपलब्ध गराउने, स्वास्थ्य उपचारमा सहुलियत दिने तथा सार्वजनिक कार्यालय र भौतिक संरचना निर्माण गर्दा ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने उहाँको भनाइ थियो । एजिङ नेपालका अध्यक्ष प्रकाश गौतमले ज्येष्ठ नागरिकसँग रहेको अनुभव र सीप संरक्षण तथा उपयोग गर्ने नीति आवश्यक रहेको बताउनुभयो ।

नयाँ पुस्ता र पुरानो पुस्ताबीच विचार र अनुभवको दूरी बढ्दै गएको उल्लेख गर्दै उहाँले अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । “कुनै काम गर्न थालेको भर्खरको युवालाई त्यो कामबारे पूर्ण रूपमा बुझ्न पाँच वर्ष लाग्न सक्छ । तर त्यही काम गरेको अनुभवी ज्येष्ठ नागरिकसँग उसले त्यही कुरा सिक्न धेरै समय लाग्दैन । ज्येष्ठ नागरिकलाई कदर गर्दा त्यसबाट फाइदा अहिलेको नयाँ पुस्तालाई नै हुन्छ,” उहाँले भन्नुभयो । सेन्ट लरेन्स कलेजका क्याम्पस चिफ पुरुषोत्तम महर्जनले नयाँ र पुरानो पुस्ताबीचको पुस्तान्तरण दूरी (जेनेरेशन ग्याप) कम गर्न आवश्यक रहेको बताउनुभयो ।

अन्तरपुस्ता सहकार्यबाट मात्रै परिवार, समाज र देशको भलो हुने उहाँको भनाइ थियो । ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष डा. बालकृष्ण थापाले ज्येष्ठ नागरिकलाई भजनकीर्तनमा मात्र सीमित नराखी उनीहरूको क्षमता र रुचिअनुसार काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो । आफूले ६० वर्षको उमेरमा अध्ययन सुरु गरेर ६५ वर्षमा विद्यावारिधि पूरा गरेको उदाहरण दिँदै उहाँले ज्येष्ठ नागरिकलाई सक्रिय, सम्मानित र गुणस्तरीय जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका अध्यक्ष मदनदाश श्रेष्ठले सरकारले ज्येष्ठ नागरिक मन्त्रालयको नाम हटाएकोप्रति असन्तुष्टि जनाउँदै पुनः कायम गर्न आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताले मात्रै नपुग्ने उल्लेख गर्दै उहाँले उनीहरूको अनुभव र सीप संरक्षण गर्ने तथा घरपरिवार र समाजमा सम्मानजनक जीवनयापनको वातावरण बनाउने नीति आवश्यक रहेको बताउनुभयो । “अब यो बुढाबुढीको काम छैन भनेर सरकारले पनि अवकाश दिने र घरसमाजमा पनि काम नभएको मान्छे भन्ने सोचाइ राख्ने चलन परिवर्तन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताले मात्रै पुग्दैन, घरसमाजमा सम्मानजनक ढंगले जीवन निर्वाह गर्ने वातावरण पनि बनाउन आवश्यक छ ।” मातापिता सेवा सदनकी अध्यक्ष नर्मदा शर्माले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरपरिवारमै आत्मीय वातावरणमा राख्नुपर्ने बताउनुभयो ।

उनीहरूलाई दिनभर निष्क्रिय राख्नुभन्दा विभिन्न अतिरिक्त क्रियाकलाप र क्षमताअनुसारका सामान्य काममा सहभागी गराउन सकिने उहाँको सुझाव थियो । कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केएमसी अस्पताल सिनामंगलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । शिविरमा करिब २०० जनाको ईसीजी, इको, युरिक एसिड, सुगर र पिसाब परीक्षण गरिएको थियो । ३० जना सुरक्षाकर्मीको समेत स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमपछि बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकै अवसरमा अन्य स्थानबाट पनि निमन्त्रणा आए तापनि सेन्ट लरेन्स कलेजले आयोजना गरेको कार्यक्रम उपयुक्त लागेर सहभागी भएको बताउनुभयो । कार्यक्रममा आफ्नो स्वास्थ्य परीक्षण गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कलेजका अध्यक्ष केशवप्रसाद दंगालले ज्येष्ठ नागरिक घर, समाज र देशका अभिभावक भएकाले उनीहरूको सम्मान र अनुभवबाट समुन्नत समाज निर्माणमा योगदान पुग्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी निरोगी र दीर्घजीवनको कामना गर्दै केएमसी अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । विश्वभर हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।