काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते भएका २७ वर्षीय तामाङलाई उपचार खर्च, कुरुवा खर्च तथा अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर घाइते भएका तामाङको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो।
उपचारका क्रममा ७ लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको थियो। त्यसैगरी, अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ र प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार पूर्ण स्थायी अशक्तता तथा अंगभंगबापत १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको हो। यसअघि प्राधिकरणले तामाङलाई उपचारका लागि ५ लाख रुपैयाँ पेश्की उपलब्ध गराइसकेको थियो। प्राधिकरण मेडिकल बोर्डले तामाङको उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सनलगायतका कागजात अध्ययन गरेको थियो।
विशेषज्ञ चिकित्सकसहितको बोर्डले पेश्की कटाएर बाँकी उपचार खर्च तथा दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो। विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने व्यवस्था छ। तर २ लाख रुपैयाँभन्दा बढी उपचार खर्च भएमा प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्छ। तामाङको उपचार खर्च २ लाख रुपैयाँभन्दा बढी भएकाले मेडिकल बोर्डबाट आवश्यक अध्ययन गरी भुक्तानीका लागि सिफारिस गरिएको हो।
प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरेको छ। सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने व्यवस्था समेत रहेको प्राधिकरणले जनाएको छ।











प्रतिक्रिया