काठमाडौँ।
नेपाली सेनाको अर्धवार्षिक ‘पृतना समन्वयात्मक बैठक–२०८३’ सुरु भएको छ। बैठकमा राष्ट्रिय सुरक्षा, विपद् प्रतिकार्य तथा सेनाको कार्यसम्पादनलगायत समसामयिक विषयमा गम्भीर छलफल हुने भएको छ।
नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालय तथा पृतनाका प्रमुख र पूर्वरथीहरूको सहभागितामा बैठक आयोजना गरिएको हो। बैठकमा प्रधान सेनापति अशोकराज सिग्देल, रक्षा सचिव इन्दु घिमिरे, रथीवृन्द तथा रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको सहभागिता रहेको रक्षा मन्त्रालयले जनाएको छ।
कार्यक्रममा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत मन्तव्य राखेका थिए।
बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालय तथा पृतनाले आ–आफ्नो जिम्मेवारीअन्तर्गत भएका कामको अवस्था, सम्पन्न कार्यको समीक्षा तथा कार्यसम्पादनका क्रममा देखिएका चुनौतीबारे जानकारी गराउने कार्यक्रम छ।
त्यसैगरी, आगामी कार्यदिशा तथा संस्थागत सुधारका लागि आवश्यक सुझावमाथि पनि छलफल गरिने रक्षा मन्त्रालयले जनाएको छ। बैठकमा विपद् प्रतिकार्य तथा पछिल्लो समय देखिएका विभिन्न समसामयिक सुरक्षा चुनौतीसम्बन्धी विषयसमेत छलफलको एजेन्डामा राखिएको छ।
नेपाली सेनाको नियमित अर्धवार्षिक समीक्षा तथा समन्वयका रूपमा आयोजना हुँदै आएको बैठकलाई सेनाको कार्यसम्पादन, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी चुनौतीको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा लिइएको छ।
रक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम भण्डारीद्वारा जारी विज्ञप्तिमा बैठकमा हुने छलफलबाट आगामी कार्यदिशा र सुधारका लागि आवश्यक सुझाव प्राप्त हुने उल्लेख गरिएको छ।











प्रतिक्रिया