प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच एक घण्टा भेटवार्ता, सुरक्षा अवस्थाबारे छलफल


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो भएको भेटवार्ता करिब एक घण्टा चलेको हो।

भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय सुरक्षा तथा पछिल्लो सुरक्षा परिस्थितिलगायतका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री र प्रधानसेनापतिबीच नियमित उच्चस्तरीय भेटका क्रममा सुरक्षा चुनौती, मुलुकको समग्र अवस्थालगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

यद्यपि, भेटवार्तामा उठेका विषय तथा छलफलको निष्कर्षबारे प्रधानमन्त्रीको सचिवालय वा नेपाली सेनाले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिबीच प्रधानमन्त्री र प्रधानसेनापतिबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेट नियमित समन्वय र सुरक्षा अवस्थाबारे जानकारी आदानप्रदानका लागि भएको हो वा कुनै विशेष विषयमा केन्द्रित थियो भन्नेबारे औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ।