अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष महर्जन र महासचिव कर्माचार्य आमनेसामने


 ललितपुर।

ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुशन महर्जन र महासचिव भूमिनन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। 

संघको ४७ औँ साधारणसभा तथा निर्वाचन आगामी असोज २३ र २४ गते गर्ने निर्णय भएसँगै दुवै जनाले अध्यक्षका लागि आफ्नो प्यानलसहित उम्मेदवारी दिएका हुन् ।

संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका महर्जनले लामो समयदेखि संघमा रहेर काम गरेको अनुभवका आधारमा अध्यक्षका लागि आफू स्वाभाविक दाबेदार भएको बताएका छन्।यसअघि उपाध्यक्ष र कार्यसमिति सदस्यका रूपमा काम गरिसकेका उनी नेपाल उद्योग वाणिज्य महासंघको समिति सदस्य समेत भइसकेका छन् ।

महर्जनले उद्योगी–व्यवसायीका समस्या र निजी क्षेत्रको आवाजलाई संघ, प्रदेश र स्थानीय सरकारसँगै नेपाल उद्योग वाणिज्य महासंघसम्म प्रभावकारी रूपमा पु¥याएर व्यावहारिक समाधान खोज्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। ‘संघमा आबद्ध सम्पूर्ण उद्योगी–व्यवसायी साथीहरूको माया, साथ र विश्वास प्राप्त हुनेमा म पूर्ण रूपमा विश्वस्त छु,’ उनले भने, ‘निजी क्षेत्रका समस्या र आवाजलाई तीनवटै तहका सरकारका साथै छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघसम्म सशक्त रूपमा पु¥याएर व्यावहारिक समाधान खोज्नु मेरो मुख्य प्राथमिकता हुनेछ।’

यता महासचिव कर्माचार्यले पनि संघमा लामो समयदेखि गरेको काम र वर्तमान महासचिवका रूपमा प्राप्त अनुभवलाई अध्यक्ष पदको उम्मेदवारीको आधार बनाएका छन्। २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध उनी तीनपटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिका संयोजक र कोषाध्यक्ष हुँदै महासचिवको जिम्मेवारीमा पुगेका हुन्।

‘महासचिवको दायित्व निर्वाह गर्दै गर्दा मैले संघलाई अझ नजिकबाट चिन्ने र बुझ्ने मौका पाएँ। यसले अध्यक्ष भएर काम गर्ने आत्मविश्वास बढाएपछि उम्मेदवारी दिने घोषणा गरेको हुँ,’८८ कर्माचार्यले भने। उनले निजी क्षेत्रको आवाजलाई तीनवटै तहका सरकारसम्म सशक्त रूपमा पु¥याउने, उद्योगी–व्यवसायीको हकहित तथा व्यावसायिक सुरक्षालाई प्राथमिकता दिने र संघको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

सफल उद्यमीका रूपमा समेत परिचित महर्जन महालक्ष्मी ह्युमपाइप उद्योगका प्रबन्ध निर्देशक हुन्।उनी महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज, हिमालय क्राफ्ट, महालक्ष्मी मोटर्स, सुसन कन्स्ट्रक्सन र प्रिकास्ट कन्क्रिट सोलुसन नेपाललगायतका विभिन्न व्यावसायिक प्रतिष्ठानमा आबद्ध छन्। कर्माचार्यको उम्मेदवारी भने संघभित्रको लामो संस्थागत अनुभव र महासचिवको जिम्मेवारी सम्हाल्दाको अनुभवमा केन्द्रित देखिएको छ।

संघको नेतृत्वका लागि दुवैको उम्मेदवारी घोषणासँगै आगामी निर्वाचनमा प्रतिस्पर्धा थप रोचक बनेको छ। दुवैले उद्योगी–व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको सुरक्षा र सरकारसँगको नीतिगत संवादलाई आफ्नो प्राथमिकतामा राखेका छन्। अब निर्वाचनमा उनीहरूले प्रस्तुत गर्ने कार्ययोजना, संघभित्रको समर्थन र व्यवसायीको विश्वासले नेतृत्वको समीकरण निर्धारण गर्नेछ ।

महर्जनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुनील शाक्य ‘ हान्ताई ’ उपाध्यक्ष(उद्योग) रमेशसिं महर्जन, उपाध्यक्ष (वाणिज्य)मा महेश श्रेष्ठ, उपाध्यक्ष(संस्थागत) मा पूर्णबहादुर महर्जन, महासचिवमा राजु महर्जन, कोषाध्यक्षमा प्रवीण ताम्रकार रहेका छन्। त्यसैगरी कर्माचार्यको प्यानमाको वरिष्ठ उपाध्यक्षमा रुपकुमार शाक्य, उपाध्यक्ष (उद्योग)मा सजना श्रेष्ठ नेम्कुल, उपाध्यक्ष(वाणिज्य) मा सञ्जय अमात्य, उपाध्यक्ष(संस्थागत) मा सुविन बज्राचार्य, महासचिवमा मिलन शाक्य र कोषाध्यक्षमा शर्मिला जोशी श्रेष्ठ रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष आपुलाल अवाले, उपाध्यक्ष संस्थागतमा कृष्णप्रसाद सञ्जेल र कोषाध्यक्षमा मुकुन्द महर्जनको पनि उम्मेदवारी परेको छ।