काठमाडौँ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतासँग प्रत्यक्ष जोडिएका समस्याको समाधानमा ठोस परिणाम देखाउन सरकारलाई आग्रह गरेका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवाको बढ्दो विदेश पलायन, महँगी तथा भ्रष्टाचारलगायत विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाए। उनले सरकारको सुशासनसम्बन्धी प्रतिबद्धता व्यवहारमा भन्दा नारामै सीमित भएको टिप्पणी गरे।
राईले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरू अलपत्र रहेको तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर कमजोर बन्दै गएको विषय पनि सदनमा उठाए। शिक्षा क्षेत्रमा देखिएको बेथितिप्रति सरकारले आवश्यक ध्यान दिनुपर्ने उनको भनाइ थियो।
सरकारले भ्रष्टाचारका पुराना फाइल खोल्ने दाबी गरे पनि त्यसअनुसार काम हुन नसकेको भन्दै उनले प्रश्न उठाए। गिरिबन्धु टी–स्टेट र वाइडबडी प्रकरणलगायत विषयमा छानबिन र कारबाही अघि बढाउन सरकारलाई उनले चुनौती दिए।
‘गिरिबन्धु टी–स्टेट होस् वा वाइडबडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’ भन्दै राईले सरकारसँग जवाफ मागे। दुईतिहाइनजिकको शक्ति प्रयोग गर्दै भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो। भ्रष्टाचारीमाथि कारबाही गर्ने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने उनले बताए।
फ्रि भिसा र फ्रि टिकटको व्यवस्था तथा किसानका समस्याबारे पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको राईको आरोप थियो। जनताका समस्यामा टालटुले समाधान खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताए।
त्यस्तै, जेन–जी आन्दोलनमाथि सरकारले गरेको भनिएको दमनको विषयमा पनि राईले सरकारको नियतमाथि प्रश्न उठाए। सदन बन्द रहेको अवस्थामा संघीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै कदम नचाल्न सरकारलाई सचेत गराउँदै उनले आफ्नो दल यस्ता विषयमा सतर्क रहेको बताए।











प्रतिक्रिया