काठमाडौं ।
भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ।नेपाल विद्युत् प्राधिकरणले असोज १५ देखि २६ गतेसम्म विभिन्न वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गरी भूमिगत लाइन सञ्चालन तथा आवश्यक प्राविधिक काम गर्ने जनाएको छ।
यस अवधिमा सतुंगल–बौथली, मच्छेगाउँ, मुलपानी, गर्जुधारा, बलम्बु, कोटेश्वर–बालकुमारी, सिफल, धौलागिरी आवास र धोबीखोला लगायतका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ। मौसम प्रतिकूल भएमा भने निर्धारित कटौती नहुने प्राधिकरणले जनाएको छ।
उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने योजनाअन्तर्गत प्राधिकरणले ३३ केभी, ११ केभी र ४०० भोल्टका लाइन भूमिगत गर्ने तथा अप्टिकल फाइबर बिछ्याउने काम अघि बढाएको छ। भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा देखिने अव्यवस्थित तार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया