धादिङ ।
काठमाडौं उपत्यकालाई देशका विभिन्न जिल्ला र मुख्य व्यापारिक नाकासँग जोड्ने पृथ्वी राजमार्गमा पहिरो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–२ छहरेमा खसेको पहिरो र ठूला ढुंगा पन्छाएर सडक खुलाइएपछि राजमार्गमा रोकिएका तथा अलपत्र परेका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्।
अविरल वर्षाका कारण छहरे, परेवाभीर, कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात पटकपटक प्रभावित हुँदै आएको थियो। काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य सडक भएकाले राजमार्ग अवरुद्ध हुँदा यात्रु, व्यवसायी तथा दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित हुने गरेको छ।
छहरेमा सडकमा खसेको पहिरो र ठूला ढुंगा हटाएर सडकको आवश्यक चौडाइ खुलाइएको नागढुंगा–नौबिसे–मुग्लिङ सडक आयोजना पूर्वी खण्डले जनाएको छ। पहिरो हटाउने क्रममा थप ढुंगा र माटो खस्ने जोखिम रहेकाले सडक पूर्ण रूपमा सहज बनाउन समय लागेको आयोजनाका अधिकारीले बताएका छन्।
सडक खुले पनि जोखिम भने हटिसकेको छैन। परेवाभीरलगायतका स्थानमा माथिबाट माटो, लेदो तथा ढुंगा खस्ने क्रम अझै रहेकाले चालक र यात्रुले सावधानी अपनाउनुपर्ने अवस्था छ। वर्षा रोकिए पनि कमजोर बनेका सडकका भित्ताबाट जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले राजमार्ग दुईतर्फी सञ्चालनमा आए पनि सडकको जोखिमलाई बेवास्ता नगर्न चालकलाई आग्रह गर्नुभएको छ। उहाँले सवारीसाधन तीव्र गतिमा नचलाउन, जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन र सडकको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ।
राजमार्गमा पहिरो खस्ने सम्भावना रहेका स्थानमा सडक आयोजना, प्रशासन र सुरक्षा निकायले आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरेका छन्। सडकमा अवरोध आए तत्काल हटाउने गरी तयारीसमेत गरिएको प्रशासनले जनाएको छ।
पृथ्वी राजमार्ग काठमाडौंका लागि खाद्यान्न, इन्धन तथा दैनिक उपभोग्य वस्तु भित्र्याउने प्रमुख मार्गसमेत हो। राजमार्गमा आउने सामान्य अवरोधले पनि काठमाडौंसहित आसपासका जिल्लाको आपूर्ति व्यवस्थामा असर पार्ने भएकाले सडक खुला राख्नु चुनौतीपूर्ण बन्दै गएको छ।
काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा वर्षासँगै पहिरोको जोखिम बढेपछि यात्रु र चालक थप सचेत हुनुपर्ने अवस्था छ। अहिले दुईतर्फी यातायात सञ्चालनमा आए पनि जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउँदै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।











प्रतिक्रिया