प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक कार्यसूचीमा


काठमाडौँ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा पाँच वटा विधेयकसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

कानुनमन्त्री सोविता गौतमले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ समितिमा पठाउने प्रस्ताव राख्नेछिन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच, सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक पनि आज बस्ने संसद् सचिवालयले जनाएको छ।