युवतीलाई बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ


काठमाडौँ।

झापा बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।

सोमबार राति करिब १०ः३० बजे राय मादक पदार्थ सेवन गरी पेट्रोलसहित इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रायले तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँध्नुका साथै शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेका थिए। घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको हो।

घटनामा घाइते भएकी रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रायमाथि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।