बीपी राजमार्ग खुल्यो, तत्काल साना सवारीसाधन मात्र सञ्चालनमा


काठमाडौं । 

अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्र सञ्चालनमा आएका छन्।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो।

बाढीका कारण नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ को माम्ती क्षेत्रमा डाइभर्सन बगेको थियो। यस्तै, चौकीडाँडा, चारसयवेशी, गिम्दीवेशी र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी दुई ठाउँमा डाइभर्सन निर्माण गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दिउँसोदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ। ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबस सञ्चालनका लागि भने केही घण्टा पर्खनुपर्ने बताइएको छ।