काठमाडौँ ।
चालु आर्थिक वर्ष २०८३÷८४ को वैशाख १ गतेदेखि असोज ११ गतेसम्म देशभर ६ हजार ३ सय २० वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ वैशाख १ देखि असोज ११ गतेसम्म भएका बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, भारी वर्षा, सर्पदंशलगायतका विपद्का घटनामा परी ३१२ जनाको मृत्यु भएको छ ।
सो अवधिमा ८ जना बेपत्ता भएका छन् भने २ हजार ६२९ जना घाइते भएका छन् । विभिन्न विपद्का घटनाबाट देशभर ७ हजार ५७० परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै घटना सर्पदंश,पहिरो र आगलागीका छन् ।
सर्पदंशका मात्रै १ हजार ४८७ घटना भएका छन् । सर्पदंशबाट ८८ जनाको मृत्यु, १ हजार ३२२ जना घाइते र १ हजार ४५२ परिवार प्रभावित भएका छन् ।
त्यस्तै, २०८३ वैशाख १ देखि असोज ११ गतेसम्म पहिरोका १ हजार ३५४ घटना भएका छन् । पहिरोमा परी ४९ जनाको मृत्यु, एक जना बेपत्ता र ६२ जना घाइते भएका छन् । पहिरोबाट १ हजार १९० परिवार प्रभावित भएका छन् ।
आगलागीका १ हजार ३२४ घटना भएका छन् । आगलागीमा परी २५ जनाको मृत्यु र १८६ जना घाइते भएका छन् भने १ हजार ४३७ परिवार प्रभावित भएका छन् ।
हावाहुरीका ४९४ घटनामा १४ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । हावाहुरीबाट १ हजार ३६९ परिवार प्रभावित भएका छन् । बाढीका २५१ घटनामा ३० जनाको मृत्यु, ७ जना बेपत्ता र २१ जना घाइते भएका छन् । बाढीबाट ६६० परिवार प्रभावित भएका छन् । यसमा भोटेकोशी बाढीबाट प्रभावितको भने तथ्यांक समावेश गरिएको छैन ।
चट्याङका २०७ घटनामा २४ जनाको मृत्यु र १८१ जना घाइते भएका छन् । चट्याङबाट ३८८ परिवार प्रभावित भएका छन् । यसैगरी, वैशाख १ देखि असोज ११ गतेसम्म लेक लाग्ने ७१ घटनामा २६ जनाको मृत्यु र ४६ जना घाइते भएका छन् । जनावरको आक्रमणका २५८ घटनामा १९ जनाको मृत्यु र २०९ जना घाइते भएका छन् ।
भारी वर्षाका २२२ घटनामा चार जनाको मृत्यु र १४ जना घाइते भएका छन् भने ४३९ परिवार प्रभावित भएका छन् । हिमपहिरोका तीन घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । डुंगा पल्टिने एक घटनामा दुई जनाको मृत्यु भएको छ ।
वन डढेलोका १२१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । विस्फोटनको एक घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । असिनाका ६ घटनाबाट मानवीय क्षति नभए पनि एक परिवार प्रभावित भएको छ ।
भूकम्पका आठ घटना अभिलेख भए पनि मानवीय क्षति भएको छैन । तर २२ परिवार प्रभावित भएका छन् । अन्य पाँच प्रकारका विपद्का घटनामा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
प्राधिकरणको यो तथ्यांकले आर्थिक वर्ष २०८३÷८४ को साढे पाँच महिनामै विपद्का कारण ठूलो मानवीय क्षति भएको देखाएको छ । बाढी, पहिरो र चट्याङजस्ता मौसमी विपद्सँगै सर्पदंश,आगलागी र जनावरको आक्रमणजस्ता घटनाबाट समेत उल्लेख्य जनधनको क्षति भइरहेको छ । विपद्का घटना विभिन्न प्रकृतिका भए पनि तथ्यांकले जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, स्थानीय तहको तयारी,उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।











प्रतिक्रिया