मनाङको हिम्लुङ हिमालमा भीषण हिमपहिरो, करिब एक दर्जन आरोही बेपत्ता भएको आशंका


काठमाडौं ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन सम्पर्कविहीन भएको आशंका गरिएको छ। आरोहण टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए।

हिमपहिरोपछि उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त हुन सकेको छैन। घटनास्थलमा खोज तथा उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनामा के–कति मानवीय तथा भौतिक क्षति भयो भन्ने यकिन विवरण अझै प्राप्त भएको छैन। उद्धार टोली घटनास्थलतर्फ जाने तयारीमा रहेको छ।