काठमाडौँ ।
पश्चिम नेपालमा भारी वर्षा भइरहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ।
पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। पश्चिमी क्षेत्रमा आज र भोलिसम्म वर्षाको प्रभाव कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पश्चिम नेपालमा बढी वर्षा भएको मौसमविद् रोजन लामिछानेले बताएका छन्।
महाशाखाले जोखिमयुक्त क्षेत्रमा ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी जारी गर्दै पहिरो, बाढी र डुबानको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ। पूर्वी नेपालमा भने मौसम क्रमशः सुधार हुँदै गएको छ।
भोलि रातिदेखि देशभर मौसममा सुधार आउने र सोमबारदेखि अधिकांश भूभागको मौसम सफा हुने पूर्वानुमान गरिएको छ।











प्रतिक्रिया