काठमाडौं ।
निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका प्रमुख नदी तथा खोलामा जलसतह बढेपछि बाढी र डुबानको जोखिम बढेको छ। बागमती, विष्णुमती, हनुमन्ते, मनहरा र बल्खुलगायतका खोलामा जलसतहले सतर्कता तह पार गरेपछि सुरक्षा निकायले निगरानी बढाएका छन्।
बाढीको जोखिम बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रहरीले नदी किनारमा निगरानी बढाउनुका साथै जोखिममा परेका नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जनाएको छ।
बल्खुमा घर जोखिममा, ६ परिवार सुरक्षित स्थानमा
बल्खु खोलामा निरन्तर कटान भइरहेका कारण नदी किनारको एउटा घर जोखिममा परेको छ। काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा उक्त घरमा डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
काठमाडौं महानगरपालिकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।
हनुमन्तेमा बाढी, लोकन्थलीबाट १६ जनाको उद्धार
हनुमन्ते खोलामा पानीको बहाव बढेपछि भक्तपुरको लोकन्थलीस्थित तल्लो क्षेत्रमा जोखिममा परेका १६ जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको छ।
उपत्यकाका विभिन्न नदी तथा खोला किनारमा जलसतह बढेपछि केही स्थानमा यातायात तथा पैदल आवागमनसमेत बन्द गरिएको छ।
करिडोरमा पार्किङ निषेध, सवारी आवागमन नियन्त्रण
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार नदी करिडोर क्षेत्रमा सबै प्रकारका सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ।
सबै करिडोर सडकमा पानीको सतह क्रमशः मूल सडकको छेउसम्म पुगेकाले सवारी आवागमनसमेत क्रमशः नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उनले बताए।
काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई थानकोटमा होल्ड गराइएको छ भने बल्खु क्षेत्रमा मालवाहक ट्रकसमेत रोकिएका छन्।
गृहमन्त्री र सीडीओद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
यसैबीच, गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासल पुगेर बाढी प्रभावित क्षेत्रको अवस्थाबारे निरीक्षण गरेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि बागमती नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले नदीको बहाव, नदी किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रबारे जानकारी लिएका छन्। साथै, आसपासका बस्ती र संरचनामा हुन सक्ने जोखिमबारे सुरक्षा निकायसँग छलफल गरेका छन्।
चोभार गल्छीमा पनि पानीको बहाव बढ्यो
काठमाडौं उपत्यकाबाट पानी बाहिरिने प्रमुख निकास चोभार गल्छीमा समेत पानीको बहाव बढेको छ।
उपत्यकाका विभिन्न खोला तथा नदीको पानी यही गल्छी हुँदै बाहिरिने भएकाले यस क्षेत्रमा पनि विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
नदी किनारमा नजान सुरक्षा निकायको आग्रह
निरन्तर वर्षा भइरहेकाले सुरक्षा निकायले सर्वसाधारणलाई नदी तथा खोला किनारमा नजान, अति आवश्यक कामबाहेक यात्रा नगर्न र बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेका छन्।
वर्षाको क्रम जारी रहेकाले आगामी दिनमा समेत नदी तथा खोला किनारका बस्तीमा जोखिम कायम रहन सक्ने भन्दै स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।











प्रतिक्रिया