थापाथलीस्थित बागमती नदीको जल सतह सतर्कता तहभन्दा माथि, नदी किनारमा नजान आग्रह


काठमाडौं ।

लगातारको वर्षाका कारण काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ। नदीमा पानीको बहाव बढेसँगै नदी किनार आसपासका क्षेत्रमा जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षा अझै जारी रहेकाले बागमती नदीको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूमाथि विशेष निगरानी राख्न आग्रह गरेको छ।विपद् तथा आपत्कालीन अवस्था आइपरेमा सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर १११४ तथा आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सर्वसाधारणलाई नदी किनारबाट टाढा रहन र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।