असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह


काठमाडौँ।

प्रधानमन्त्री बालेन शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुनसक्ने तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएका छन् ।

उनले सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भन्दै नदी तथा खोलानजिक र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरे ।

यस्तै, पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, मौसम सुधार नभएसम्म ट्रेकिङ तथा हिमाली क्षेत्रको यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले अनुरोध गरेका छन् । साथै, मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।