–दूषित खानेपानी र कमजोर सरसफाइले संक्रमणको जोखिम बढाउने
–नुवाकोटका चार स्थानीय तहमा ७७ हजारभन्दा बढी लक्षित
काठमाडौँ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पु¥याएसँगै प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको छ । बाढीका कारण खानेपानीका स्रोत दूषित हुनु, शौचालय तथा सरसफाइका संरचना क्षतिग्रस्त हुनु र सुरक्षित पानीको पहुँच घट्नुले विपद्पछिको स्वास्थ्य संकट थप जटिल बन्न सक्ने भन्दै स्वास्थ्य निकायले सचेतना र रोकथामका कार्यक्रम अघि बढाएका छन् ।
बाढी प्रभावित समुदायमा हैजा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।
अभियानअन्तर्गत नुवाकोटमा मात्रै हालसम्म ५० हजार ४ सय ६७ जनाले खोप पाएका छन् । जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा. अञ्जु कार्कीका अनुसार बाढी प्रभावित जिल्लाका चार स्थानीय तहमा बसोबास गर्ने ७७ हजारभन्दा बढी नागरिकलाई खोप खुवाउने लक्ष्य राखिएको छ । विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार बाढीपछि विस्थापन, खानेपानीको अभाव, खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने अवस्था, फोहोरमैला व्यवस्थापनमा कठिनाइ तथा दूषित पानीको प्रयोगका कारण हैजा, झाडापखाला, टाइफाइडलगायत पानी तथा सरसफाइसँग सम्बन्धित रोग फैलिने जोखिम बढ्न सक्छ । विशेषगरी बाढीपछि खानेपानीको मुहानमा बाढीको पानी मिसिँदा पानी दूषित हुन सक्छ । घर तथा बस्तीमा पानी जम्दा लामखुट्टे र अन्य रोग फैलाउने जीवको संख्या बढ्न सक्छ । प्रभावित नागरिक लामो समयसम्म भीडभाडयुक्त अस्थायी आश्रयस्थलमा बस्नुपर्दा श्वासप्रश्वासजन्य तथा अन्य संक्रामक रोगको जोखिमसमेत बढ्न सक्छ । यति मात्र नभई क्षतिग्रस्त क्षेत्रमा पुरिएका मानव, पशुपंक्षी तथा अन्य जीवजन्तु पुरिएका सामग्री नष्ट भएर आउने दुर्गन्धका कारण बिरामी पर्ने सम्भावना बढ्दो अवस्थामा रहेको स्वास्थ्य विज्ञहरूले जनाएका छन् ।
त्यसैले विपद्पछिको अवस्थामा स्वास्थ्य सुरक्षालाई उद्धार र राहतसँगै प्राथमिकतामा राख्नुपर्ने जनस्वास्थ्य विज्ञहरूको जोड छ । खोपले हैजाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भए पनि खोप मात्रले विपद्पछिको स्वास्थ्य जोखिम नियन्त्रण गर्न नसक्ने भएकाले सुरक्षित खानेपानी, सरसफाइ, खाद्य स्वच्छता र रोगको निगरानीलाई समान रूपमा अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ ।
दूषित पानी नखान स्वास्थ्यकर्मीको आग्रह
स्वास्थ्यकर्मीले बाढी प्रभावित नागरिकलाई उमालेर वा सुरक्षित रूपमा शुद्धीकरण गरिएको पानी मात्र पिउन, सम्भव भएसम्म बोतल वा सुरक्षित स्रोतको पानी प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन तथा खाना पकाउनुअघि र खानुअघि हात सफा गर्न आग्रह गरेका छन् ।
बाढीको पानीले छोएको खाना नखान, खुला रूपमा राखिएको खाद्य पदार्थ प्रयोग नगर्न तथा दिसापिसाब गर्दा सुरक्षित शौचालय प्रयोग गर्न पनि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । झाडापखाला, बान्ता, पेट दुख्ने, अत्यधिक तिर्खा लाग्ने, कमजोरी हुने वा शरीरमा पानीको मात्रा घट्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने उनीहरूको भनाइ छ ।
बाढीबाट प्रभावित क्षेत्रमा जनस्वास्थ्यसँगै बेपत्ताको खोजी, शव पहिचान र व्यवस्थापनको चुनौतीसमेत कायमै छ । नेपाल प्रहरीका अनुसार उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी परिचालन भएका छन् भने ४ हजार ६ सय ५५ जना बेपत्ताको खोजी जारी छ । बाढीमा मृत्यु भएकाहरूको पहिचानका लागि मृतक र आफन्तको डीएनए नमुना संकलन भइरहेको छ । प्रहरीका अनुसार मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ डीएनए नमुना संकलन गरिएको छ । हालसम्म १ हजार २ सय ९२ शव व्यवस्थापन गरिएको विवरण छ ।
विपद्पछिको अवस्थामा शव व्यवस्थापनमा ढिलाइ, दूषित पानी, फोहोरमैला, भीडभाड र स्वास्थ्य सेवामा अवरोध हुँदा विभिन्न रोगको जोखिम बढ्न सक्ने भएकाले रोग निगरानी र स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्नुपर्ने देखिएको छ । बाढीले भौतिक संरचना मात्र भत्काउँदैन, त्यसले खानेपानी, सरसफाइ, खाद्य सुरक्षा र स्वास्थ्य सेवाको आधारभूत प्रणालीसमेत कमजोर बनाउने भएकाले विपद्पछिको स्वास्थ्य व्यवस्थापनलाई राहत वितरणकै महत्वपूर्ण हिस्साका रूपमा लिनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
नुवाकोटमा ५० हजारभन्दा बढी नागरिकले हैजाविरुद्धको खोप सेवन गरिसकेका अवस्थामा बाँकी लक्षित जनसंख्यालाई समेत समेट्दै खोप, सुरक्षित पानी, सरसफाइ, खाद्य स्वच्छता र रोग निगरानीलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । विपद्पछि देखिन सक्ने स्वास्थ्य संकटलाई समयमै नियन्त्रण गर्न सके थप मानवीय क्षति रोक्न सकिने भएकाले प्रभावित नागरिकलाई स्वास्थ्य सुरक्षाका आधारभूत उपाय अपनाउन स्वास्थ्य निकायले आग्रह गरेका छन् ।











प्रतिक्रिया