ट्रकको ठक्करबाट १८ महिने बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर


नवलपरासी। 

पूर्वी नवलपरासीको सदरमुकाम कावासाेती ८ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा आईतवार साँझ ट्रकले ठक्कर दिदा माेटरसाईकलमा सवार बालिकाको मृत्यु भएकाे छ ।जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार मृत्यु हुनेमा आफ्नै बाबा आमाका साथ माेटरसाईकलमा बसेकी १८ महिनाकी बालिका रहेकी छन् ।

स्थानीय फलफूल चाेकमा सडक पार गर्दै रहेको लु ७० प  ८२८४ नम्बरको माेटरसाईकललाई पश्चिम बाट पूर्व जादै गरेको प्रदेश ०१-०२-००१ ख ८०७७ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएकाे थियाे ।

ट्रककाे ठक्करबाट अर्घाखाँची जिल्ला घर भई कावासेती ११ कुडाैली बस्ने वर्ष ३२ काे माेटरसाईकल चालक सूर्य बिसी,चालककै श्रीमती २५ वर्षीया पुष्पा चाैहान र नाबालिक एकै साथ घाइते भएका थिए ।

घाइते हरूलाई उपचारार्थ स्थानीय अस्पताल लगिएकाेमा बालिकालाई चिकित्सकले ७:५ बजे मृत घाेषणा गरेको र आमा चाैहानकाे अवस्था गंभीर रहेकाेले थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज भरतपुर पठाईएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले घटनाका दुवै सवारी साधानसहित ट्रक चालक जिल्ला बारा सिमरा १४ का ३० वर्षीय शाैरभ खतिवडालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान भई रहेको बताएको छ ।