काठमाडौँ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछि जारी खोजी, उद्धार र राहतका काममा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले रसुवा बाढीपछिको अवस्था, खोजी तथा उद्धार र राहत वितरणका सम्बन्धमा जानकारी गराएका थिए।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार उद्धार तथा राहतका काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पनि सँगसँगै अगाडि बढाइएको जानकारी बैठकमा दिइएको थियो।
बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षणलाई शीघ्र अघि बढाई पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको खरेलले बताए। त्यस्तै, अझै सम्पर्कविहीन रहेका नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने र कानुनी समस्या देखिए आवश्यक व्यवस्था गरी परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
खरेलका अनुसार बैठकमा रसुवाको भोटेकोशी बाढीपछिको प्रतिकार्यलाई प्राथमिकतामा राखेर छलफल गरिएको थियो। उनले खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका कामलाई थप प्रभावकारी बनाउन पार्टीले सरकारलाई आग्रह गरेको जानकारी दिए।
उनका अनुसार अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको अवस्थामा उनीहरूको अवस्थाबारे यथाशीघ्र टुंगो लगाउन आवश्यक रहेको बैठकको निष्कर्ष छ। कानुनी अवरोध भए आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको सहमतिमा समस्या समाधान गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।
यसैबीच, गत १० भदौमा रसुवामा बाढी आएपछि स्थगित गरिएका पार्टीका नियमित गतिविधिहरू पनि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको प्रवक्ता खरेलले जानकारी दिए।











प्रतिक्रिया