काठमाडौं।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारहरूप्रति असन्तुष्ट देखिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूले प्रश्न गर्न खोजेपछि ओलीले पत्रकारिताको मर्यादा र प्रश्न गर्ने शैलीप्रति आपत्ति जनाउँदै सभ्य ढंगले प्रस्तुत हुन आग्रह गरे।
दिउँसो १ बजेका लागि तय गरिएको एमाले सचिवालय बैठक समयमै सुरु हुन नसकेपछि ओली करिब आधा घण्टा पार्टी कार्यालयमा बसेर बाहिरिएका थिए। बैठक भने दिउँसो ३ बजेका लागि सारिएको थियो।
पार्टी कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले कार्यदल, पार्टी पुनर्गठन तथा पछिल्लो आन्तरिक विवादबारे प्रश्न गर्न खोजेका थिए। त्यस क्रममा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा मर्यादित शैली अपनाउनुपर्ने बताए।
ओलीले समाचारका लागि प्रश्न गर्दा पत्रकारले सम्बन्धित व्यक्तिलाई प्रश्न सोध्ने अवसर दिनुपर्ने र प्रकाशित गर्नुअघि भनाइको पुष्टि गर्नुपर्ने धारणा राखे। उनले पत्रकारहरूले बुम नजिकै ल्याएर असहज ढंगले प्रश्न गर्ने गरेको भन्दै यस्तो शैली परिवर्तन गर्न आग्रह गरे।
‘कम्तीमा समाचार प्रकाशित गर्ने गरी प्रश्न गरौँ न। तपाईंहरू बुम ल्याएर थुतुनो घोच्न आइपुग्नुहुन्छ। मुखमा घोचेरै प्रश्न गर्नुहुन्छ। त्यसो नगर्नुस्, सभ्य भएर प्रश्न सोध्नुस्,’ ओलीले भने।
सञ्चारकर्मीहरूले एमालेको निर्वाचन समीक्षा, पार्टी पुनर्गठनसम्बन्धी कार्यदल र पछिल्लो आन्तरिक विवादबारे थप प्रश्न राख्न खोजे पनि ओलीले त्यसको जवाफ दिएनन्। उनी प्रश्नको उत्तर नदिई पार्टी कार्यालयबाट बाहिरिएका थिए।
एमालेभित्र पछिल्लो समय नेतृत्व र पार्टी पुनर्गठनको विषयलाई लिएर आन्तरिक बहस तीव्र बनेको छ। विभिन्न कमिटीमा नेतृत्व परिवर्तनको माग उठिरहेका बेला महासचिव शंकर पोखरेलले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनसँग सम्बन्धित विषय समेटिएको प्रतिवेदन अघि सारेका छन्।
यता, ओलीको नेतृत्वको पक्षमा पूर्वउपमहासचिव तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पनि छुट्टै प्रतिवेदन तयार पारेका छन्। ज्ञवालीको प्रतिवेदनमा ओली नेतृत्वको सकारात्मक मूल्यांकन गर्दै नेतृत्व परिवर्तनको मागलाई सान्दर्भिक नभएको तर्क प्रस्तुत गरिएको छ।











प्रतिक्रिया