९ लाख घुससहित डिल्लीबजारका नापी अधिकृत पक्राउ


काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रूपैयाँ घुससहित नापी अधिकृत डिल्लीबहादुर वलीलाई नियन्त्रणमा लिएको छ ।

नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुखसमेत रहेका अधिकृत वलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो ।

अख्तियारका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय मनमैजु, काठमाडौंमा पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र सास्ती दिँदै घुस माग गरिरहेका थिए।

वलीलाई काठमाडौंको टोखा नगरपालिका-५ वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट ९ लाख रूपैयाँ नगदसहित हिजो नियन्त्रणमा लिइएको र आज विशेष अदालताबाट अनुसन्धानका लागि म्याद थपिएको अख्तियारले जनाएको छ ।