भोटेकोशी बाढी : मृतकको संख्या १ हजार ४०९ पुग्यो


काठमाडौं।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४०७ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो। फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतक र आफन्तबाट डीएनए नमुना संकलन गर्ने प्रक्रिया जारी छ।

हालसम्म मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ वटा शव व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार ९७९ जना राखिएका छन्। बाढीपछिको खोज तथा उद्धारसँगै बेपत्ताको खोजी, शव पहिचान र व्यवस्थापनको कामलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।