कृष्णभीरको सडक तयार, आजदेखि नियमित सञ्चालन

188
Shares

धादिङ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ गतेदेखि अवरुद्ध सडक १८ दिनपछि सञ्चालनमा आएको छ । त्रिशूली नदीको कटानका कारण सडकको पूरै भाग भासिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्रयाक निर्माण गरिएसँगै सडक सञ्चालनमा ल्याइएको हो । नयाँ ट्रयाकमा ग्राभेलिङ तथा नाला निर्माणको कामसमेत पूरा गरिएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना नेतृत्वमा भदौ १८ गतेदेखि भदौ ३१ गते साँझसम्म निरन्तर काम गरेर सडक सञ्चालनमा ल्याइएको हो । सडक निर्माणका क्रममा दैनिक करिब १८ घण्टासम्म विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो । लामो समयदेखि अवरुद्ध पृथ्वी राजमार्गको यो खण्ड सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ र देशका विभिन्न भागबीचको सडक आवागमन सहज हुने भएको छ ।

त्रिशूली नदीको कटानले सडकको पूरै भाग पहिरिएपछि पुरानै स्थानमा सडक पुनर्निर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सडक चौडा पारिएको नागढुंगा–मुग्लिन सडक आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्रयाक निर्माण गरिएको हो ।

भित्ता काटेर सडक बनाउने क्रममा पहराका ठाउँठाउँबाट पानी रसाएपछि निर्माणमा थप चुनौती देखिएको थियो । कृष्णभीरको भित्तामा जता काट्यो उतैबाट पानी निस्कने समस्या देखिएपछि निर्माण व्यवसायी, इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सडक निर्माण अघि बढाएका थिए । भित्ताबाट निरन्तर रसाइरहेको पानी अझै पनि सडकको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले कृष्णभीरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार सडक सञ्चालनमा आए पनि भौगोलिक अवस्था जोखिमपूर्ण रहेकाले निर्माण उपकरण र प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिनेछ ।

सडक निर्माणका क्रममा पहिरो खस्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ । वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ्ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति परिचालन गरिएको छ ।

कृष्णभीर मुलुककै चर्चित पहिरो क्षेत्रमध्ये एक हो । करिब २६ वर्षअघि समेत कृष्णभीरमा ठूलो पहिरो गएपछि लामो समयको मेहनत, उच्च प्राविधिक सीप र अनुभव प्रयोग गरेर पहिरो नियन्त्रण गरिएको थियो । त्यसबेला गरिएको ठूलो प्रयासपछि नियन्त्रणमा आएको कृष्णभीरमा पुनः सडकको पूरै संरचना पहिरिएपछि अहिले नयाँ प्रविधि र वैकल्पिक ट्रयाक निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको हो ।

कृष्णभीरको सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आउने–जाने हजारौँ सवारीसाधन प्रभावित भएका थिए । लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक बाटो प्रयोग गर्नुपरेको थियो । सडक सञ्चालनमा आएसँगै दैनिक आवतजावत गर्ने यात्रु, सार्वजनिक तथा मालवाहक सवारीसाधनलाई राहत पुग्ने भएको छ ।

आयोजनाका अनुसार अहिले निर्माण गरिएको नयाँ सडक ट्रयाक तत्कालका लागि यातायात सञ्चालन गर्न मिल्ने अवस्थामा पुगेको हो । सडकको दीर्घकालीन स्थायित्वका लागि आवश्यक थप संरचना तथा जोखिम न्यूनीकरणका काम भने भौगोलिक अवस्था र प्राविधिक अध्ययनका आधारमा निरन्तर गरिनेछ ।