धादिङ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ गतेदेखि अवरुद्ध सडक १८ दिनपछि सञ्चालनमा आएको छ। त्रिशूली नदीको कटानका कारण सडकको पुरै भाग भासिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक निर्माण गरिएसँगै सडक सञ्चालनमा ल्याइएको हो। नयाँ ट्र्याकमा ग्राभेलिङ तथा नाला निर्माणको कामसमेत पूरा गरिएको छ।
नागढुंगा–मुग्लिन सडक आयोजना नेतृत्वमा भदौ १८ गतेदेखि भदौ ३१ गते साँझसम्म निरन्तर काम गरेर सडक सञ्चालनमा ल्याइएको हो। सडक निर्माणका क्रममा दैनिक करिब १८ घण्टासम्म विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। लामो समयदेखि अवरुद्ध पृथ्वी राजमार्गको यो खण्ड सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ र देशका विभिन्न भागबीचको सडक आवागमन सहज हुने भएको छ।
त्रिशूली नदीको कटानले सडकको पुरै भाग पहिरिएपछि पुरानै स्थानमा सडक पुनर्निर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सडक चौडा पारिएको नागढुंगा–मुग्लिन सडक आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्र्याक निर्माण गरिएको हो।
भित्ता काटेर सडक बनाउने क्रममा पहराका ठाउँठाउँबाट पानी रसिएपछि निर्माणमा थप चुनौती देखिएको थियो। कृष्णभीरको भित्तामा जता काट्यो उतैबाट पानी निस्कने समस्या देखिएपछि निर्माण व्यवसायी, इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सडक निर्माण अघि बढाएका थिए। भित्ताबाट निरन्तर रसाइरहेको पानी अझै पनि सडकको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले कृष्णभीरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन सञ्चालन गरिने बताउनुभयो। उहाँका अनुसार सडक सञ्चालनमा आए पनि भौगोलिक अवस्था जोखिमपूर्ण रहेकाले निर्माण उपकरण र प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिनेछ।
सडक निर्माणका क्रममा पहिरो खस्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ। वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ्ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति परिचालन गरिएको छ।
कृष्णभीर मुलुककै चर्चित पहिरो क्षेत्रमध्ये एक हो। करिब २६ वर्षअघि समेत कृष्णभीरमा ठूलो पहिरो गएपछि लामो समयको मेहनत, उच्च प्राविधिक सीप र अनुभव प्रयोग गरेर पहिरो नियन्त्रण गरिएको थियो। त्यसबेला गरिएको ठूलो प्रयासपछि नियन्त्रणमा आएको कृष्णभीरमा पुनः सडकको पुरै संरचना पहिरिएपछि अहिले नयाँ प्रविधि र वैकल्पिक ट्र्याक निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको हो।
कृष्णभीरको सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आउने–जाने हजारौँ सवारीसाधन प्रभावित भएका थिए। लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक बाटो प्रयोग गर्नुपरेको थियो। सडक सञ्चालनमा आएसँगै दैनिक आवतजावत गर्ने यात्रु, सार्वजनिक तथा मालवाहक सवारीसाधनलाई राहत पुग्ने भएको छ।
आयोजनाका अनुसार अहिले निर्माण गरिएको नयाँ सडक ट्र्याक तत्कालका लागि यातायात सञ्चालन गर्न मिल्ने अवस्थामा पुगेको हो। सडकको दीर्घकालीन स्थायित्वका लागि आवश्यक थप संरचना तथा जोखिम न्यूनीकरणका काम भने भौगोलिक अवस्था र प्राविधिक अध्ययनका आधारमा निरन्तर गरिनेछ।











प्रतिक्रिया