आगामी तीन दिन नदीमा बाढीको जोखिम, यी जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह


काठमाडौं ।

बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदी तथा खोलानालामा जलसतह बढ्ने पूर्वानुमान गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार हालसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर, भदौ ३१ देखि असोज २ गतेसम्म अधिकांश नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

कोशी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। त्यस्तै नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि आगामी तीन दिन जलसतह बढ्ने जनाइएको छ। महाकाली नदीमा तीनै दिन जलसतह उल्लेख्य बढ्न सक्ने तथा कर्णाली, भेरी र पश्चिम सेतीमा सामान्य रूपमा जलसतह बढ्ने अनुमान छ। कन्काई, कमला, पश्चिम राप्ती र बबई नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।

आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ र बाजुरामा बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

यस्तै, असोज १ गते सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका केही स–साना नदीमा तथा असोज २ गते कोशी र मधेश प्रदेशका केही नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय तथा नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।