सांसद बास्कोटाको प्रश्न– ‘विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो?’


काठमाडौँ।

रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको प्रकरणले संसदमा प्रवेश गरेको छ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो प्रकरणबारे संसदमा प्रश्न उठाएकी हुन् ।

यसअघि एक युट्युब च्यानलबाट उद्धार भई आइसीयूमा उपचाररत व्यक्तिसँगको अन्तर्वार्ता सार्वजनिक भएको थियो । सांसद बास्कोटाले अस्पतालको आईसियूमा उपचाररत बिरामीको संवेदनशीलता र गोपनीयतामाथि प्रश्न उठ्ने गरी अन्तर्वार्ता सार्वजनिक गरिएको भन्दै आपत्ति जनाइन् ।

उनले आईसियूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताइन । उनले आईसियूमा उपचाररत बिरामीलाई निश्चित समयका लागि मात्र परिवारका सदस्यलाई भेट्न दिइने उल्लेख गर्दै दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदांगो पारेको बताइन् ।

उनले भनिन् , ‘अस्पतालको आईसियूमा अत्यन्त जटिल अवस्थामा रहेको बिरामीको उपचारको लागि छुट्याइएको विशेष कक्ष हो । यस्तो अवस्थामा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई समेत निश्चित समयका लागि मात्र भेटघाट गर्न दिइन्छ । तर दुईदिन अघि सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ ।

यसले केही प्रश्न समेत खडा पारेको छ । अस्पतालमा उपचाररत बिरामी अझ आईसियूमै लिनु वा लिन स्वीकृती दिनु कति इथिकल अभ्यास हो ? विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ? ’ विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो रु सांसद बास्कोटाको प्रश्न छ ।