काठमाडौं ।
काठमाडौं उपत्यकामा अवैध रूपमा भण्डारण तथा बिक्री वितरण भइरहेको विद्युतीय चुरोट (भेप) सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङ्गलका २७ वर्षीय शुभम गुप्ता, रामेछाप घर भई काठमाडौं महानगरपालिका–३ बस्ने १९ वर्षीय राजन मोक्तान र काभ्रेको पाँचखाल–९ घर भई ललितपुर च्यासल बस्ने १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा अवैध रूपमा भेपको भण्डारण तथा बिक्री भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र महानगरपालिका–६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाममा छापा मार्दा २ हजार ७७० थान विद्युतीय चुरोट (भेप) बरामद गरेको जनाएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया