काठमाडौं ।
भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानअन्तर्गत नेपाली सेनाले सोमबार थप २० जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको हवाई उद्धार गरिएको छ, जसमा ३ हजार ८९४ नेपाली र २८३ विदेशी नागरिक छन्। रसुवागढी जलविद्युत आयोजनाको टनेलमा आयोजना प्रतिनिधि र विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी जारी राखेको छ। लाङ्गटाङ जलविद्युत आयोजनाको टनेलमा ड्रोनमार्फत खोजी गरिए पनि हालसम्म केही फेला परेको छैन। चिलिमे हाइड्रोपावरमा एक्स्काभेटर र लोडर प्रयोग गरी करिब १०० मिटर डेब्रिज हटाइएको छ।
टनेलभित्र पानी रहेकाले त्यसलाई हटाउने काम भइरहेको छ भने उद्धार टोली डोरीको सहायताले टनेलभित्र प्रवेश गर्ने प्रयासमा छ। स्याफ्रूबेसीलाई धुन्चेसम्म स्थलमार्गबाट जोड्न खोला वारपार गर्ने तुइनसमेत जडान गरिएको छ। यस्तै, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनाका पावरहाउस, टनेल तथा आसपासका क्षेत्रमा नेपाली सेना र आयोजनाका प्राविधिकसहितको टोलीले खोजी जारी राखेको छ।
रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष परिचालन गरिएको छ। टोलीले बेपत्ताको खोजी, शव व्यवस्थापन, राहत ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेको छ। सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट सोमबार थप ३१ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म ३ हजार ७८४ जनाले उक्त सेवा प्राप्त गरेका छन्। यसैबीच, बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ–३, शीतल बजारमा सडक खुलाउन कडा चट्टान फुटाउने ब्लास्टिङ कार्य भइरहेको सेनाले जनाएको छ।











प्रतिक्रिया